
- पाल्पामा घरेलु तथा साना उद्योग कार्यालयले क्रसर उद्योगहरूको अनुगमन तीव्र पारेको छ।
- दर्ता विना र मापदण्ड विपरीत सञ्चालित दुईवटा क्रसर उद्योगलाई कार्यालयले बन्द गराएको छ।
- अन्य क्रसर उद्योगहरूको पनि कागजात र वातावरणीय मापदण्ड अध्ययन भइरहेको छ।
पाल्पा । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जिल्लामा क्रसर उद्योगको अनुगमनलाई तीव्रता दिएको छ ।
अनुगमनका क्रममा दर्ता र मापदण्ड विपरित सञ्चालनमा रहेका दुई वटा क्रसर उद्योगलाई कार्यालयले बन्द गराएको छ । बन्द गरिएका उद्योगहरूमा सेभेनस्टर ग्रुपले रामपुर नगरपालिका–५ मा सञ्चालनमा ल्याएको रामपुर गिट्टी बालुवा प्रशोधन केन्द्र र माथागढी गाउँपालिका–४ झडेवामा सञ्चालित झडेवा क्रसर उद्योग रहेका छन् । यी उद्योगहरू दर्ता विना नै नेपाल सरकारको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेकाले बन्द गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख केशव सुनारले जानकारी दिए ।
हालसम्म जिल्लाका सातवटा पालिकाका पाँच वटा क्रसर उद्योगको अनुगमन गरिएको कार्यालयले जनाएको छ । “हामीले अन्य क्रसर उद्योगहरूको पनि स्थलगत अनुगमन र कागजातको अध्ययन गरिरहेका छौँ” प्रमुख सुनारले भने । सरकारले नियमविपरित सञ्चालित क्रसर उद्योगहरू बन्द गराउन यसअघि नै परिपत्र गरिसकेकाले सोही आधारमा अनुगमनलाई कडा पारिएको उनले बताए ।
अनुगमन गरिएका अन्य उद्योगहरूको हकमा कागजी प्रक्रिया र वातावरणीय मापदण्डको विस्तृत अध्ययन भइरहेको र कैफियत देखिएमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने कार्यालय प्रमुख सुनारले जानकारी दिए ।













