
- अर्घाखाँचीको कोन्द्रे खोलामा पहिरो खस्दा गोरुसिङ्गे-सन्धिखर्क सडक पूर्ण रूपमा बन्द भएको छ।
- पहिरो हटाउने काम भइरहेको छ तर सडक सञ्चालन हुन केही समय लाग्ने देखिएको छ।
- यात्रुहरूलाई डोहोटे-बनगाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रामा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
अर्घाखाँची । गोरुसिङ्गे-सन्धिखर्क सडकखण्डअन्तर्गत शितगंगा नगरपालिका – १२ स्थित कोन्द्रे खोलामा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार भदौ १३ गते शनिवार बिहान करिब ९ बजे माथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो। पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा प्रभावित भएको छ।
सडकमा खसेको पहिरो हटाउन जेसीबीसहित प्रहरी जनशक्ति परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख दिवसबहादुर जिसीले जानकारी दिए। अवरोध हटाउने काम भइरहेको भए पनि सडक पूर्णरूपमा सञ्चालनमा आउन समय लाग्न सक्ने जनाइएको छ।
गोरुसिङ्गे-सन्धिखर्क सडकखण्ड प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई प्रहरीले वैकल्पिक मार्गका रूपमा डोहोटे हुँदै बनगाई निस्किने सडकखण्ड प्रयोग गर्न अनुरोध गरेको छ।
वर्षाका कारण पहिरो तथा सडक अवरोधको जोखिम रहेकाले उक्त सडकखण्डमा यात्रा गर्ने यात्रुलाई आवश्यक सावधानी अपनाउनसमेत प्रहरीले आग्रह गरेको छ।













