
- बझाङका १२ स्थानीय तहमध्ये आधारभूत स्वास्थ्य सेवामा जयपृथ्वी नगरपालिका जिल्लामै प्रथम भएको छ।
- मूल्याङ्कनमा बित्थडचिर गाउँपालिका द्वितीय र मष्टा गाउँपालिका तृतीय स्थानमा रहेका छन्।
- स्वास्थ्यकर्मीको मिहिनेत र सरोकारवालाको सहयोगका कारण यो सफलता प्राप्त भएको नगरपालिकाले जनाएको छ।
दोरेन्द्र खड्का बझाङ । आर्थिक वर्ष २०८२/०८३ मा बझाङका १२ वटै स्थानीय तहबाट सम्पादित आधारभूत स्वास्थ्य सेवाको मूल्याङ्कनमा जयपृथ्वी नगरपालिका जिल्लामै प्रथम भएको छ।
स्वास्थ्य कार्यालय बझाङले आयोजना गरेको जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठीका अवसरमा गरिएको मूल्याङ्कनमा जयपृथ्वी नगरपालिकाले पहिलो स्थान हासिल गरेको हो।
स्वास्थ्य सेवाका विभिन्न सूचक तथा स्थानीय तहबाट सम्पादित आधारभूत स्वास्थ्य सेवाको प्रगतिको मूल्याङ्कनका आधारमा जयपृथ्वी नगरपालिका प्रथम, बित्थडचिर गाउँपालिका द्वितीय र मष्टा गाउँपालिका तृतीय भएका छन्।
स्वास्थ्य क्षेत्रमा हासिल गरेको यो उपलब्धिलाई जयपृथ्वी नगरपालिकाका स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले गौरव र खुसीको विषयका रूपमा लिएका छन्।
जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनक सिंहका अनुसार सीमित स्रोतसाधन तथा विभिन्न चुनौतीका बीच स्वास्थ्यकर्मीहरूको निरन्तर प्रयास, स्थानीय तहको समन्वय र सरोकारवालाहरूको सहयोगका कारण यो उपलब्धि हासिल गर्न सम्भव भएको हो।
उनका अनुसार नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, गैरसरकारी संघ–संस्था तथा आमा समूहहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पनि महत्वपूर्ण रहेको छ।
स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूको निरन्तर मेहनत र जिम्मेवारीपूर्ण कार्यसम्पादनका कारण आधारभूत स्वास्थ्य सेवाको क्षेत्रमा नगरपालिकाले राम्रो प्रगति गर्न सकेको सिंहले बताए। स्वास्थ्य सेवाको पहुँच विस्तार, नियमित सेवा प्रवाह तथा नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यमा स्वास्थ्यकर्मीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ।
सिंहले यो सफलता कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई स्वास्थ्य क्षेत्रमा क्रियाशील सम्पूर्ण टिमको सामूहिक प्रयासको परिणाम भएको बताए। आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तरलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
बझाङका १२ स्थानीय तहको स्वास्थ्य सेवाको मूल्याङ्कनमा उत्कृष्ट स्थान हासिल गर्ने स्थानीय तहलाई जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठीका क्रममा सम्मानसमेत गरिएको थियो।













