फ्रान्समा फेरि हुन लागेको प्रदर्शन हिंसात्मक बन्न नदिन ७० हजार प्रहरी परिचालन

समाचार सारांश
Auto Generated by AI
  • फ्रान्समा महँगी र सरकारविरुद्ध हुन सक्ने सम्भावित हिंसा नियन्त्रण गर्न ७० हजार प्रहरी परिचालन गरिएको छ।
  • बढ्दो सार्वजनिक असन्तुष्टि, महँगी र बजेटसम्बन्धी समस्याका कारण देशव्यापी प्रदर्शन हुन लागेको हो।
  • यस प्रदर्शनको प्रभाव फ्रान्सका साथै जर्मनीमा समेत देखिन थालेको छ।

एजेन्सी। फ्रान्समा शनिबार हुन सक्ने प्रदर्शन र हिंसा नियन्त्रण गर्न सरकारले देशभर ७० हजार प्रहरी परिचालन गरेको छ।

महँगी, सार्वजनिक सेवाको अवस्था र राष्ट्रपति इम्यानुएल म्याक्रोंको सरकारप्रति असन्तुष्टि बढिरहेका बेला देशव्यापी प्रदर्शन हुन लागेको हो।

हेलोविनकै दिन हुन लागेको प्रदर्शनमा दुई साताअघि भएको हिंसा र लुटपाट दोहोरिन सक्ने आशंका अधिकारीहरूले गरेका छन्।

त्यतिबेला फ्रान्सका विभिन्न सहरमा पसल, सार्वजनिक भवन र व्यवसायमा तोडफोड तथा क्षति पुगेको थियो। सुरक्षाकर्मीसमेत अप्रत्याशित रूपमा भएको हिंसाबाट प्रभावित भएका थिए।

गृहमन्त्री लरेन नुनेजले यसपटक कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा व्यवस्था मिलाइएको बताएका छन्। उनले यस दिनलाई ‘अत्यन्त उच्च जोखिम’ भएको दिनका रूपमा व्याख्या गरेका छन्।

‘कुनै पनि अशान्ति भए त्यसको कडा प्रतिकार गर्न सबै सुरक्षा निकाय तयारी अवस्थामा छन्,’ उनले यसै साता पत्रकार सम्मेलनमा भनेका थिए।

हेलोविनका बेला प्रदर्शनकारीले अनुहार छोप्न प्रयोग गरिने मास्कबाट आफ्नो पहिचान लुकाउन सक्ने आशंका पनि अधिकारीहरूले गरेका छन्।

सार्वजनिक शान्ति खल्बलिने जोखिम भए प्रहरीले अनुहार छोप्न प्रतिबन्ध लगाउन सक्ने कानुनी व्यवस्था रहेको गृहमन्त्री नुनेजले बताएका छन्।

अमेरिकी दूतावासले पनि फ्रान्स भ्रमणमा रहेका आफ्ना नागरिकलाई प्रदर्शन र ठूलो जमघट हुने क्षेत्रबाट टाढा रहन सुझाव दिएको छ।

फ्रान्समा पछिल्ला प्रदर्शन सेप्टेम्बरको अन्त्यतिर सुरु भएका थिए। सरकारले सन् २०२७ को बजेटमाथि छलफल थालेसँगै महँगी र सरकारी सेवाको अवस्थालाई लिएर असन्तुष्टि बढेको हो। देशको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको झन्डै १२० प्रतिशत पुग्न लागेको छ। ऋणको ब्याज खर्च बढिरहेका बेला सरकारले खर्च कटौती गर्नुपर्ने दबाब छ।

विद्यालयको जीर्ण अवस्था, कक्षाकोठामा विद्यार्थीको चाप र विश्वविद्यालय भर्ना प्रणालीमा रहेको असमानताप्रति असन्तुष्ट विद्यार्थी पनि आन्दोलनमा जोडिएका छन्।

उनीहरूसँगै ट्रेड युनियन र जीवनयापनको खर्च घटाउन माग गर्दै पुनः सक्रिय भएको ‘यल्लो भेस्ट’ आन्दोलनका समर्थक पनि सडकमा उत्रिएका छन्।

सरकारले शिक्षा क्षेत्रमा सुधार र इन्धनको खर्च घटाउने आश्वासन दिए पनि प्रदर्शनकारीको असन्तुष्टि मत्थर भएको छैन।

पेरिसनजिकैको नोजाँ–सुर–मार्नका १५ वर्षीय विद्यार्थी आरोन बर्थिए दे ग्रान्द्री लगातार तेस्रो सप्ताहन्त प्रदर्शनमा सहभागी हुने तयारीमा छन्।

‘सानो छँदा मलाई युवाहरू नै भविष्य हुन् भनिन्थ्यो,’ उनले भने, ‘तर फ्रान्सको भविष्य भनिएका हामीसँगै आवश्यक स्रोतसाधन छैन भने देश नै कमजोर हुँदै जान्छ।’

फ्रान्समा सुरु भएको प्रदर्शनको प्रभाव युरोपका अन्य देशमा पनि देखिन थालेको छ। शनिबार जर्मनीका ३० भन्दा बढी सहरमा युवाहरूको अगुवाइमा प्रदर्शन गर्ने तयारी छ।

फ्रान्सको पछिल्लो अशान्तिले राष्ट्रपति म्याक्रोंको सरकारलाई थप दबाबमा पारेको छ। यसले दक्षिणपन्थी नेतृ मारिन ले पेनलाई भने राजनीतिक लाभ पुगेको छ। आगामी अप्रिलमा हुने राष्ट्रपति निर्वाचनअघि सार्वजनिक मत सर्वेक्षणमा उनी अगाडि देखिएकी छन्। म्याक्रोंपछि मध्यमार्गी धारबाट नेतृत्व गर्ने सम्भावित नेताहरू भने विभाजित छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?