काठमाडौं । माघ १ गते पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको ९ एन–एएनसी एटीआर विमान दुर्घटनाको प्रारम्भिक कारणमा पखेटामा समस्या आएको देखिएको छ।
मंगलबारको गोरखापत्र दैनिकमा मीनराज भण्डारी समाचार लेख्छन्, दुर्घटना भएको विमानको ब्ल्याक बक्समा रहेको उडान तथ्याङ्क (फ्लाइट डाटा) विश्लेषणको प्रारम्भिक नतिजाअनुसार दुवै इन्जिनका पखेटामा समस्या आएको पाइएको हो तर यो मानवीय वा प्राविधिक के कारणले हो भन्ने निष्कर्ष भने अझै पत्ता लागेको छैन।
दुर्घटना जाँच आयोग २०७९ का सदस्य सचिव बुद्धिसागर लामिछानेले जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलर (ब्लेड)हरू फेदर (छड्के नभई सिधा) अवस्थामै रहेको देखिएको बताए। इन्जिनका प्रोपेलरहरू फेदर हुनु भनेको इन्जिनमा पावर कम हुनु हो। यस्तो अवस्थाा इन्जिनले पावर दिए पनि जहाज अघि बढ्ने वा तलमाथि नहुने अवस्था बुझिन्छ।
‘दुवै इन्जिनका प्रोपेलर फेदरमा किन गए? यस्तो अवस्थामा पाइलटले पावर नदिएको हो वा इन्जिन बिग्रिएर समस्या आएको थियो भन्नेबारे प्राविधिक र मानवीय पक्षबारे हुने थप अनुसन्धानबाट प्रष्ट हुनेछ’, लामिछानेले भने।
जाँचबुझ समितिका सदस्य एकराजजङ्ग थापाका अनुसार दुर्घटनाका कारण जहाजको इन्जिनमा समस्या वा मानवीय त्रुटिमध्ये यही नै प्रमुख कारण हो भन्नेबारे यकिन भइनसकेको बताए।
‘दायाँ इन्जिनमा छवटा र बायाँ इन्जिनमा छवटा प्रोपेलर ब्लेड हुन्छन्, जुन फेदर गएको देखिन्छ । हालसम्मको अनुसन्धानमा इन्जिनमा समस्या देखिएको होइन पङ्खाको एङ्गल नमिलेको देखिएको छ’, उनले भने।
आयोगका सदस्य सचिवद्वारा जारी विज्ञप्तिअनुसार ‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त ९एन–एएनसी जहाज अवतरण गर्ने क्रममा बेसलेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिन्छ ।’ यो भनेको प्रोपेलर निश्चित डिग्रीअनुसार छड्के नभई ९० डिग्रीमा रहनु हो ।
फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको सिङ्गापुरमा अध्ययन अनुसन्धान गरिएको हो। त्यस कार्यमा आयोगको नेतृत्वमा ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो (टीएसआईबी) सिङ्गापुर, टीएसबी क्यानडा, पी एन्ड डब्लू क्यानडा र ईएएसएका प्रतिनिधिहरू संलग्नतामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ। त्यस क्रममा सिङ्गापुरस्थित एटीआर जहाजको ‘सिमुलेटर’मा विभिन्न उडान र प्राविधिक पक्षहरूको थप अध्ययन गरिएको थियो।
गत साता गरिएको डाटा विश्लेषण तथा अनुसन्धान गर्दा दुवै इन्जिनमा रहेका प्रोपेलर ब्लेड फेदर भएको देखिएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ। तर त्यो किन भयो भन्ने अध्ययन भइरहेको आयोगले जनाएको छ। त्यसबारे पूर्ण प्रतिवेदन आउन समय लाग्ने जनाउँदै प्रारम्भिक प्रतिवेदन भने चाँडै सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ।
काठमाडौंबाट उडेको विमान पोखरा विमानस्थलमा अवतरण गर्नु केही समयअघि सेतीखोँचमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक दल र यात्रुसहित ७२ जनाको मृत्यु भएको थियो।












