काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको उद्घाटन खेलमा नेपालले मलेसियाविरुद्ध टस हारेर बलिङ गर्ने भएको छ। टस जितेर मलेसियाका क्याप्टेन हमद फैजले पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताका लागि १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम घोषणा गरिसकेको छ।
रोहित पौडेलको कप्तानीमा आइतबार घोषित टिममा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी छन्।
यस्तै, अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतोलाई वैकल्पिक राखेको छ। आजको खेलमा ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जि.सी बेञ्जमा रहेका छन्।
प्रतियोगिताको तयारी स्वरुप शनिबार भएको अभ्यास खेलमा नेपालले ओमानलाई पाँच विकेटले पराजित गरेको थियो।
वैशाख १८ गतेसम्म हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने छ। त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा १० टिमलाई दुई समूहमा विभाजन गरेर राउन्ड रोबिन पद्धतिबाट सेमिफाइनलिस्टको टुङ्गो लगाइनेछ।
समूह एमा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब परेका छन्। यस्तै, समूह बीमा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।
प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा रहेर खेल्न पाउने छ। यही प्रतियोगिताका शीर्ष तीन टिमले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्।
नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्ने छ। यस्तै, दोस्रो ८ गते ओमान, तेस्रो ११ साउदी अरबसँग र १४ गते कतारसँग खेल्ने छ। साउदी अरब र नेपालबीचको खेल मुलपानी मैदानमा हुनेछ।













