रुपन्देही ।
विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशको प्रथम अधिवेसन सम्पन्न भएको छ । बुटवल योगिकुटीमा रहेको उक्त कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले ज्योतिष जनार्दन न्यौपानेको सभापतित्वमा नयाँ नेतृत्व चयन गरेको छ ।
युवा ज्योतिष जनार्दन न्योपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विश्वज्योतिष महासंघका उपमहासचिव चिन्तामणि पोख्रेल प्रमुख आतिथि ,विश्व ज्योतिष महासंघ नेपाल राष्ट्रिय समितिका सभापति कृष्ण अर्याल, गौ संरक्षण महासंघका संयोजक बाबा योगिराज, योगाचार्य कमल पौड्याल , जीवन विज्ञान एवं शिक्षा विकास वृत्त संयोजक लुम्बिनी प्रदेशका हरि पोख्रेल, विश्व हिन्दू महासंघ लुम्बिनी प्रदेश सचिव पं. कमलकान्त पौडेल, वैदिक धर्म परिषद्का पुरुषोत्तम पाण्डे, एवं विश्व ज्योतिष महासंघका केन्द्रिय सदस्य बलराम लम्सालको आतिथ्यता रहेको थियोे भने कार्यक्रमको सञ्चालन सुन्दर भण्डारीले गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले ज्योतिष एवं अध्यात्मलाई विश्वमै परिचित गराउनका लागि यो समितिले ठूलो भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा बोल्दै विश्व हिन्दू महासंघ लुम्बिनी प्रदेशका सचिव पं कमलकान्त पाडेलले वर्तमान समयमा समाजमा बढ्दै गैरहेको अनियमित कर्मकाण्ड विधिप्रति सरोकारवालाहरुको ध्यान जानुपर्ने बताएका थिए । शास्त्रसम्मत नभएर आफ्नो अनुकुलता अनुसार कर्मकाण्ड गराउँदै हिड्ने पुरोहितहरुलाई जनचेतना र प्रशिक्षणको पनि आवश्यकता रहेको कुरा उनले बताएका थिए । कार्यक्रममा बोल्दै अर्का वक्ता बाबा योगिराजले ज्योतिष एवं कर्मकाण्ड गर्ने पुरोहितहरुले गौदानको पैसा गौ संरक्षणका लागि छुट्याइदिनु पर्ने प्रस्ताव राखेका थिए ।
यस्तै कार्यक्रमका बीचमा ज्योतिष विद्या आर्थिक उपार्जनको माध्यम मात्र नभएर यो विशुद्ध साधना पनि रहेको र सबै ज्योतिषहरुलाई साधना तर्फ लाग्न योगाचार्य कमल पौडेलले सबैलाई अपील गरेका थिए । कार्यक्रममा बोल्दै जनार्दन न्योपानेले वर्तमान समयका ज्योतिषहरुले पुरातन तरिकाले श्लोक मात्र रटेर फलादेश गर्नु भन्दा वर्तमान समयका प्रविधि, ज्ञान र विषयवस्तुको पनि अध्ययन गर्दै युगानुकुल बन्नुपर्नेमा जोड दिएको थिए । नव गठित समितिका सभापति समेत रहेका न्यौपानेले विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशको समितिले आगामी दिनमा विभिन्न रचनात्मक एवं प्रशिक्षणात्मक कार्यक्रम ल्याउने र ज्योतिष एवं अध्यात्म क्षेत्रमा अग्रणी काम गरेर आफ्नो कार्यकाल अगाडी बढाउने कुरा व्यक्त गरेका थिए ।
नवगठित लुम्बिनी प्रदेशको सभापतिमा ज्योतिष जनार्दन न्यौपाने, उपसभापतिमा मनोहर घिमिरे, हरि पाण्डे र चेतनारायण सुबेदी, महासचिवमा कमल पौडेल, उप–महासचिवमा चिरञ्जिवी पौडेल, डेमकुमारी अर्याल र विपिन भण्डारी सचिवमा ज्ञानेन्द्र पन्त, सहसचिवमा लक्ष्मी कडेल, सङ्गठन सचिवमा विष्णु गौतम , प्रचार सचिवमा नविन सुवेदी , कोषाध्यक्षमा बसन्त पौडेल, सहकोषाध्यक्ष बासुदेव मरासिनी चयन हुनुभएको छ भने सदस्यहरुमा लक्ष्मी भण्डारी, कुरेस पाण्डे, खेमराज मण्डारी, गोविन्द वस्याल, लक्ष्मीनारायण सुवदी, राजन कार्की, शिवहरी मरासिनी, कृष्णराम पौडेल चयन हुनुभएको छ । कार्यक्रममा १२ जिल्लाका करिब १०० जना ज्योतिष, धार्मिक एवं आध्यात्मिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।













