अर्घाखाँची । पत्रकारमाथी शिक्षकहरुले हातपात गरेको भन्ने समाचार भ्रामक तथा कपोकल्पित भएको धातिवाङ माध्यमिक विद्यालयले जनाएको छ ।
रिपोर्टिङको क्रममा पाणिनी गाउंपालिका वडा नं. ६ को धातिवांङ माद्यामिक विद्यालय पुगेका नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कार्यसमिति सदस्य घनश्याम पौडेल र क्यामेरा पर्सन रुकमागत भट्टराईमाथी जेठ १४ गते हातपात भएको घटना सार्वजनिक भएको थियो । तर विद्यालयले भने एक बिज्ञप्ती जारी गरी उक्त घटना र प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता समाचारका कारण निस्कलङ्कित, लगनशिल शिक्षक कर्मचारीहरूको भावनामा गंभिर चोट पुगेको जनाएको छ ।
विद्यालयका अनुसार प्रारम्भिक रूपमा दलका प्रतिनिधी, जननिर्वाचित प्रतिनिधि, विद्यालय प्रशासनको पटक पटकको बैठकले पनि विद्यालय व्यवस्थापन समितिको गठन हुन नसकेपछि अभिभावक भेलाबाट सर्व सहमत ४ जना विद्यालय व्यवस्थापन समिति सदस्यहरूको छनौट गरिएको थियो । सो तथ्य स्वीकार गर्न नसक्दा भ्रामक र तथ्यहिन समाचार नियोजित तवरले सम्प्रेषण गरिएको विद्यालयको आरोप छ ।
“विद्यालयको कार्यालयभित्र शिक्षक, विद्यालय व्यवस्थापन समितीको बैठक बसि रहेको वेला अनुमति बिना पत्रकार घनश्याम पौडेल र क्यामेरामेन छापामार शैलीमा आक्रामक रुपमा पत्रकारको आचार संहिता विपरित विद्यालयका प्रधानाध्यापक हिमलाल पौडेललाई असान्दर्भिक प्रश्नहरु सोध्ने अनुमति विना कार्यालय तथा कक्षा कोठामा प्रवेश गरी विद्यार्थीहरु र शिक्षकहरुलाइ त्रसित वनाउने खालका अमर्यादित, प्रतिशोधात्मक र चेतावनी पूर्ण व्यवहार भएको र शिक्षकहरुवाट पत्रकार माथी हातपात भएको भ्रामत्मक कपोकल्पित समाचारबाट विद्यालयको शैक्षिक वातावरणमा प्रतिकूल असर परेको छ ।” बिज्ञप्तिमा भनिएको छ, “पत्रकारीताको नाममा भएको यस अशोभनिय कार्य प्रति हामी हाम्रो विद्यालय परिवार विद्यालय व्यवस्थापन समिति घोर भर्त्सना गर्दछौं ।”












