बुटवल । प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि कपिलवस्तुमा एक युवाले प्रेमिकासहित दुई जनाको हत्या गरेका छन्।
रूपन्देहीको कंचन गाउँपालिका वडा नं. २ का २२ वर्षीय मोहन थारूले कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ मटेरियाकी १८ वर्षीय अन्जनी थारु र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
घलेका अनुसार बिहीबार बिहान नौ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका बमबहादुरको सामुदायिक अस्पताल पिपरा र अन्जनीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हाे ।
घलेका अनुसार मोहन र अन्जनीबीच केही समययता प्रेम सम्बन्ध रहे पनि मोहनले गरेको विवाहको प्रस्ताव अन्जनीले अस्वीकार गरेकी थिइन्। आफ्नो प्रस्ताव अस्वीकार गरेपछि त्यसैको रिसइबीमा मोहनले अन्जनी र उनका काका बम बहादुरको चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीकाे भनाइ छ ।
चक्कु प्रहार गर्ने मोहनलाई ईलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।-setopati












