बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले भोलि शोक बिदा दिने भएको छ ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै भोली मंगलबार पालिकाभर शोक बिदा दिने जानकारी गराएको हो । रुपन्देहीको सालकण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याव जिप पाल्पाको रैनादेवी ८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी ढोरपाटन सडकमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गाउँ सभाका सदस्य कृष्ण प्रसाद पोखरेल (बिजय) सहित पाँच जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । मृतक सवै पाणिनी गाउँपालिकाका हुन् । यो घटनाले पालिका परिवार नै शोकमग्न भएकोले भोलि २३ गते मंगलबार पाणिनी गाउँपालिकाको कार्यलय तथा यस अन्तर्गतका सबै कार्यलयहरु एवम् शिक्षण संस्थाहरुमा शोक विदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले मृतक आत्माको चिरशान्तिको कामना सहित मृतक परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै सम्वेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।












