बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सासद टोपबहादुर रायमाझीको पद के हुन्छ ? धेरैलाई चासो छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा रायमाझी सहित १६ जनालाई जिल्ला अदालत, काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८(३) अनुसार सांसदहरु फौजदारी मुद्दामा पक्राउ परेर पुर्पक्षका लागि थुनामा पठाइएमा निलम्बनमा पर्नेछन् । उक्त नियममा भनिएको छ, ‘प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ ।’
अर्थात अदालतले पुर्पक्षका लागि थुनामा पठाइ सकेपछि रायमाझी निलम्बनमा पर्नेछन् । अदालतले धरौटी वा साधारण तारेखमा छाडेकाे भएमा उनलाई सांसदको हैसियतमा नियमित काम गर्न र सेवा सुविधा उपभोग गर्न बाधा पर्ने थिएन ।












