गाेपाल भट्टराइ,
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले कर्मशिल जनशक्तिलाई रोजगार दिने भएको छ ।
कृषि, पर्यटन र उद्योगलाई आर्थिक मेरुदण्ड मानेको भुमिकास्थानले नगरभित्र रहेको बाँजो जमिनमा व्यवसायिक कृषि गर्ने र बेरोजगारहरुलाई गाउँमै काम दिनेगरि कर्मशिल जनशक्तिलाई रोजगार दिने भएको हो । चालु आर्थिक बर्ष २०७९÷०८० को तेस्रो तथा अन्तिम चौमासिकको सार्वजनिक सुनुवाइमा उठेका सवालको जवाफ दिंदै नगरप्रमुख झविलाल थापाले यस्तो बताएका हुन ।
शैक्षिक तथा सामुदायिक परामर्श सेवा केन्द्र नेपाल अर्घाखाँचीको सहजीकरणमा सम्पन्न कार्यक्रममा नगरप्रमुख थापा, उप–प्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद पोख्रेल, नगर प्रवक्ता बाबुराम पन्थी, योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसाल, शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा, प्राविधिक प्रमुख सरोज पोख्रेल सहित विभिन्न शाखाका प्रमुख तथा वार्ड अध्यक्षहरुले कार्यक्रममा उठेका सवालको जवाफ दिएका थिए ।
कार्यक्रममा शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्नुपर्ने, भौतिक निर्माणको अनुगमन प्रभावकारी हुनुपर्ने, कृषि र पर्यटनको बजारीकरण गर्नुपर्ने, विपदजन्य अवस्थामा राहत र उद्धार समयमै गर्नुपर्ने, सेवाको सहजता ल्याउनुपर्ने लगायतका सुझावहरु सहभागिले दिएका छन् । सहजीकरण गर्ने संस्थाका अध्यक्ष दोर्ण प्रसाद भुसालको अध्यक्षता, प्रध्यापक धर्मराज भुसालको संचालन र प्रध्यापक सुरज सारुको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा भुमिकास्थान–८ का नागरिक, विद्यालयका शिक्षक, पत्रकार तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।
चालु आर्थिक बर्ष २०७९÷०८० मा आजको मिति सम्म भुमिकास्थानमा ९२ प्रतिशत भौतिक प्रगति र ७८ प्रतिशत आर्थिक प्रगति भएको देखिएको छ ।












