आज आषाढ शुक्ल पूर्णिमा अर्थात् ज्ञान दिने गुरुको सम्मान गर्ने दिन। १८ पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती पनि सोमबार मनाइँदैछ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ। अँध्यारोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ ।
जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई शास्त्रमा गुरु भनिएको छ । आफू आचरणमा बसेर अरूलाई आचरणमा राख्न सक्नेलाई स्मृतिमा गुरु भनिएको छ। मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई भनिएको छ। व्रतबन्ध संस्कारका बेला गायत्री मन्त्र दिने र वेदादि शास्त्र पढाउनेलाई गुरु भनिन्छ । जीवनका कठिन मोडहरुबाट असल बाटोतर्फ डोर्याउने गुरुको महत्त्वलाई विशेष रूपमा लिने गरिएको यस पर्वलाइ सनातन धर्मावलम्बीहरुले निकै श्रद्धा र भक्तिपुर्वक मनाउने गर्दछन्।













