एजेन्सी । सुडानको अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ)का बन्दुकधारीहरूले शुक्रबार एक दुर्गम शहरमा आक्रमण गरेको र गोली चलाउनु अघि लुटपाट गरेको प्रतक्षदर्शीले जनाएका छन्।
मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफले करिब तीन महिनादेखि जनरल अब्देल फत्ताह अल बुरहानको नेतृत्वको आधिकारिक सेनासँग लडिरहेको छ। जारी द्वन्द्वले कम्तीमा तीन हजार व्यक्तिको ज्यान लिइसकेको छ र लाखौं विस्थापित भएका छन्।
उत्तरी कोर्डोफानको राजधानी एल–ओबेदबाट ५० किलोमिटर उत्तरपूर्वमा रहेको बारामा आरएसएफले ‘बैंक र सार्वजनिक भवनहरू लुटिरहेको’ सहरका केही प्रत्यक्षदर्शीले नाम उल्लेख नगर्ने सर्तमा बताए। अर्का स्थानीय अब्देलमोहसेन इब्राहिमले भने, ‘हामी आतङ्कित भएका छौं, उनीहरूले जथाभावी गोली हान्ने र लुटपाट गरिरहेका छन् भने सरकारी सेना र प्रहरी कतै पनि देखिएका छैनन्।’
यदि सेनाले एल–ओबेदबाट आउन खोज्यो भने पनि आरएसएफले एल–ओबेद–बारा सडकबाट उनीहरूलाई आउन दिएको छैन।
खार्तूमबाट ३५० किलोमिटर दक्षिणमा रहेको एल–ओबेद एक रणनीतिक व्यवस्थापकीय सामानहरूको जोहो गर्ने एक व्यावसायिक केन्द्र हो। यहाँ विमानस्थल र खाद्य भण्डारणका लागि विशाल गोदामहरू छन्। गत अप्रिल १५ देखि जारी द्वन्द्व राजधानी खार्तुम, उत्तरी कोर्डोफान र डार्फरको विशाल पश्चिमी क्षेत्रमा केन्द्रित छ।
ती स्थानहरूमा संयुक्त राष्ट्रसंघले ‘मानवताविरुद्धको अपराध’ हुन सक्ने चेतावनी दिएको छ। धेरै नागरिकहरूले आरएसएफले उनीहरूविरुद्ध हिंसात्मक कार्यहरू गरेको आरोप लगाएका छन्, जबकि सशस्त्र बलहरूले उनीहरूको सुरक्षाको लागि थोरै मात्र गरेको आरोप लगाएका छन्।
युद्ध सुरु भएदेखि आरएसएफले आवासीय क्षेत्रमा बेस स्थापना गरेको छ भने सेनाले आफ्नो हवाई सेवाको लाभ उठाउन संघर्ष गरिरहेको छ। आरएसएफले नागरिकहरूलाई उनीहरूको घरबाट बाहिर निकाल्न बाध्य पारेको, सवारी साधनहरू जफत गरेको, अन्य सम्पत्ति लुटेको र महिलाहरूलाई बलात्कार गरेको आरोप लगाइएको छ।
खार्तूम र डार्फरमा स्थानीय समय अनुसार बिहीबार रातीसम्म पनि हवाई आक्रमण, भारी गोलाबारी र जमिनमा भिडन्तसहित नयाँ भिडन्त भएको बताइएको छ।












