बुटवल । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरले समाजका हरेक गतिविधिमा समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
हालै सरुवा भई आएका प्रहरी नायब उपरीक्षक राठौरले आइतबारे आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम बोल्दै यस्तो बताएका हुन् । उनले आफू जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा रहुन्जेल नागरिकको शान्ति सुरक्षाको सवालमा समन्वय र सहकार्य गरेर अगाडि बढ्ने काम गर्ने दाबी गरे। कानुन विपरीत गर्ने जो कोही भएपनि नछाड्ने भन्दै उनले भने “ढुक्कसाथ बस्नुहोला, शान्ति सुरक्षा अपराध नियन्त्रण गर्ने र गराउने काममा कुनै कसर बाँकी छाड्दैनौँ ।”
राठौरले पत्रकार र प्रहरीको काम जनता र नागरिकका लागि रहेको भन्दै प्रहरीले पत्रकारलाई चाँडो भन्दा चाँडो सूचना दिन तयार रहेको तर घटनाबारे प्रहरीसँग भेरिफाइ गरेर मात्र सूचना सम्प्रेषण गर्न आग्रह गरे। साथै समाजमा रहेका अनैतिक कार्यको सूचना पत्रकारहरूलाई छिटो आउने भन्दै राठौरले त्यस्ता सूचना प्रहरीलाई उपलब्ध गराउन पनि अनुरोध गरे ।
उक्त कार्यक्रममा जिल्लाको समसामयिक शान्ति सुरक्षाको वस्तुस्थिति, स्थानीय स्तरमा सुरक्षासँग सम्बन्धित समस्याहरूको बारेमा छलफल तथा अन्तरकृया समेत गरिएको थियाे ।













