काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकपमा छनोट हुनु नै टोलीको एकमात्र लक्ष्य रहेको बताएका छन्।
आइतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले पछिल्ला ६ महिनायता ब्याटिङ राम्रो भएको बताए।
उनले पहिलाका सबै कुरा बिर्सिएर अहिलेको मुख्य लक्ष्य र ध्यान अब आउने खेलमा लगाएको बताए। उनले क्वालिफायर घरेलु मैदानमा आयोजना भएकाले यसलाई नेपाली टोलीले ठूलो अवसरको रुपमा लिएको बताए।
उनले क्लालिफायरमा खेल्ने कुनै पनि टिमलाई सहज रुपमा नलिएको र क्वालिफाई हुने लक्ष्य आफ्नो टोलीको रहेको बताए। सबै खेलाडीले आआफ्नो अनुभवका आधारमा तिखारिएको प्रदर्शन गरेर विश्वकपमा छनोट हुनुपर्ने बताए।
प्रशिक्षक मोन्टी देसाईले कुनै पनि टिमले कुनै पनि विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताए। उनले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरी सुधार्दै अघि बढ्ने प्रतिबद्धता जनाए।
उनले एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने बताए। उनले आफ्ना लागि सबै खेल महत्वपूर्ण रहेको बताए।
कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ। नेपाल रहेको समूह ए मा सिंगापुर, ओमान र मलेशिया छन्। समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन्। छनोटको पहिलो खेलमा नेपालले टीयू मैदानमा कात्तिक १३ गते सिंगापुरसँग खेल्नेछ।