एजेन्सी । अष्ट्रेलियाले प्रविधिको सुरक्षित प्रयोगलाई प्रवद्र्धन गर्न पहिलो एआई महिना शुरु गरेको छ।
अष्ट्रेलिया सरकारले प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्दै बुधवार देशको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) महिना शुरु गरेको हो। उद्योग र विज्ञान मन्त्री एड हसिकले क्यानबेराको अष्ट्रेलियाको राष्ट्रिय विज्ञान र प्रविधि केन्द्र क्वेस्टाकनमा नयाँ एआई प्रदर्शनी खोलेर औपचारिक रूपमा एआई महिनाको उद्घाटन गरे।
एआई महिना नोभेम्बर १५ देखि डिसेम्बर १५ सम्म सञ्चालन हुनेछ। एआई भविष्यका लागि अष्ट्रेलियाको योजनाबारे छलफल गर्न उद्यमीहरू एक ठाउँमा जुटेका छन्। एनएआईसी निर्देशक स्टेला सोलारले यस वर्ष एआईमा भएको द्रुत प्रगतिले अष्ट्रेलियाले एआई अवसरलाई सदुपयोग गर्न र यसको विश्वव्यापी प्रतिष्पर्धालाई गति दिनको आवश्यकतालाई जोड दिएको बताए।
एआई महिनाको अवधिमा अष्ट्रेलियाभरि ४० संस्थाहरूद्वारा आयोजित ५० भन्दा बढी कार्यक्रमहरू, कार्यशालाहरू, प्यानल छलफलहरू, सम्मेलनहरू र ह्याकाथनहरू एआई अवसरहरू र उत्कृष्ट अभ्यासहरू हाइलाइट गर्नका लागि आयोजित हुनेछन्।



















