बुटवल । मानव अधिकारवादी नेता कृष्ण पहाडीले लोकतन्त्रको विकल्प खोज्न नसकिने बताएका छन् ।
लोकतन्त्रको विकल्प खोज्नेहरू यो व्यवस्थाको विरोधी भएको बताउँदै लोकतन्त्रको विकल्प खोज्नुलाई लिङदेन र कमल थापाको पार्टीमा जान आग्रह गरे ।मानव अधिकार तथा शान्ति समाजले सोमबार बुटवलमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै लोकतन्त्रलाई बचाउन नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै उनले भने – लोकतन्त्रको विकल्प खोज्नु मुर्खता हो । राजनीतिक दलका नेताहरूले बाटो बिराएकाले लोकतन्त्र विरोधीहरू लोकतन्त्रको विरोधमा उत्रन मौका पाएको बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनमा जान्छु भन्ने बोली र संविधान नमान्ने विप्लव नेकपासँग समाजवादी मोर्चा गठन गर्ने कार्य लोकतन्त्र विरोधी हो भने । प्रधानमन्त्री र दलका शीर्ष नेताहरूले लोकतन्त्र विरोधी गतिविधिमा लागेको आरोप लगाए । दलका शीर्ष नेताहरू भ्रष्ट भएको दावी गर्दै नेताहरू नसुध्रिए लोकतन्त्र कमजोर हुने बताउँदै उनले भने – दलका नेताले राजनीतिलाई कमाउने पेशा व्यवसाय बनाए । भ्रष्ट राजनीतिले लोकतन्त्र बदनाम भएको उनको दावी छ ।
नेपालको संसद् राष्ट्रिय पञ्चायत जस्तो हुन थालेको उल्लेख गर्दै सांसदको कामप्रति असन्तुष्टि जनाए । मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्षसमेत रहनुभएका मानव अधिकार बादी नेता पहाडीले मानव अधिकार हनन गर्नेलाई कारवाही गर्नुपर्नेमा जोड दिए ।
राजनीति पार्टीको कोटाबाट न्यायलयमा मान्छे राखेर देश नचल्ने बताउँदै धर्म र जातजातिको राजनीति कसैले पनि गर्न नहुने बताउँदै उनले भने – नेताहरूप्रति जनताको विश्वास घटेको छ । मौका छोपेर धार्मिक एजेण्डाको नाममा लोकतन्त्र विरोधी अभियान मौलाउदै गएकाले लोकतन्त्र बचाउन नागरिकलाई सचेत हुन आग्रह गरे ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष रामकृष्ण पराजुलीले नागरिक आन्दोलन सुस्ताउँदै जाँदा लोकतन्त्रमाथि हमला भएको बताए । उनले लोकतन्त्र जोगाउन दलका नेताहरूको आवाज कमजोर भएको तर्क गरे ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष गोविन्द खनाल, पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पोखरेल, पत्रकार डा. बालकृष्ण चापागाईँ, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल, लेखक ऋषि आजाद, नेपाली कांग्रेसका प्रजापाल गिरी, बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष सुरज भट्टराई, रिता सेन लगायतले बोल्दै लोकतन्त्रको विकल्प खोज्न नसकिने बताउँदै राष्ट्रियताको विषयमा गम्भीर हुन मानव अधिकार तथा शान्ति समाजलाई सुझाव दिएका थिए ।
संघीयतासँगै निर्माण भएका प्रदेश संरचनाले आर्थिक बेथिति मौलाउंदै गएकाले प्रदेश खारेज गर्नुपर्ने सोही कार्यक्रममा बोल्ने वक्ताले बताएका छन् ।
नेकपा माओवादी केन्द्र बुटवल नगर अध्यक्ष महेन्द्र भुसालले मानव अधिकार तथा शान्ति समाजले पर्चा छापेर तत्कालीन जनयुद्ध गरेको माओवादी र अलोकतन्त्रवादी शक्तिलाई कमजोर बनाउन खोजेको दावी गरे । शान्ति समाजले छापेको पर्चामा माओवादीसहित अलोकतन्त्रवादी शक्तिलाई कमजोर बनाउन खोजिएको भन्दै उक्त पर्चाको विचार स्वीकार गर्न नसकिने बताउँदै सुधार गर्न सुझाव दिए ।
मानव अधिकार तथा शान्ति समाज रूपन्देही अध्यक्ष कृष्णप्रसाद भट्टराईको अध्यक्षता र सचिव कृष्णप्रसाद पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको थियो ।












