बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राष्ट्रिय जनमोर्चा संघीयता विरोधी नभएको बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशको साक्षात्कार कार्यक्रममा बोल्दै नेता केसीले यस्तो बताएका हुन् । नेता केसीले धेरैले राष्ट्रिय जनमोर्चा संघीयताको विरोधी पार्टी भन्ने भाष्य बनाएको भन्दै राजमो संघीयता विरोधी नभएको तर नेपालमा संघीयता हुन नहुने पक्षमा रहेको स्पष्ट पारे ।
उनले संघीयता विरोधी हुनु र नेपालमा संघीयता लागू गर्न हुँदैन भन्नुमा फरक रहेको भन्दै सबैले यसलाई बुझ्नुपर्ने बताए । उनले विश्वका धेरै देशहरूमा संघीयता लागू भएर धेरै प्रगति गरेको भएपनि नेपाल जस्तो सानो र गरिब मुलुक संघीयता धान्ने नसक्ने गरी घाँडो भएको बताए । उनले पछिल्लो समय संघीयता अनावश्यक भएको र धान्नै नसक्ने भएको भन्दै देशभरबाट यसको आवाज उठ्नु स्वभाविक भएको दावी गरे ।
उनले संघीयता विदेशी शक्तिको कारण नेपालमा लादिएको भन्दै संघीयता लागू गर्नमा नेताकाे मात्र दोष नभएर जनता पनि दोषी रहेको दावी गरे । नेपालमा संघीयताको विरोध नगर्न १० करोड रुपैयाँको प्रलोभन तथा आफूलाई ज्यान मार्ने धम्की समेत आएको बताए ।













