कपिलवस्तु । यही पौष १३ गतेदेखि हुन लागेको ८ औँ चन्द्रौटा महोत्सवको तयारी तिव्र पारिएको छ ।
बुधवार महोत्सव प्राङ्गणमा भएको पत्रकार सम्मेलनमा महोत्सवलाई भव्य रुपमा सफल पार्नको लागि तयारी तिव्र पारिएको आयोजक संस्था चन्द्राैटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समिति संयोजक ईश्वरी प्रसाद पाण्डेले बताए ।
बुधवार सम्म करिब ९५ प्रतिशत तयारी पुरा भएको आयोजकले जनाएको छ । “विकासको पुर्वाधार, आन्तरिक उत्पादन र उद्योग व्यापार” भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको महोत्सवमा अहिले करिब १ लाख दर्शकहरूको उपस्थिति गराई करिब ५ करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको संयोजक पाण्डेले बताए । उनका अनुसार महोत्सव प्रवेश शुल्क विद्यार्थीहरूको लागि ५० र अन्य सर्वसाधारणहरूको लागि ८० रुपैयाँ कायम गरिएको छ । त्यस बाहेक क र ख वर्गका अपाङ्ग र ७५ वर्ष भन्दा माथिका वृद्धवृद्धालाई प्रवेश शुल्क नलाग्ने पनि उनले बताए ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका नवनियुक्त उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) ले गर्ने पनि उनले बताए । महोत्सवमा हरेक दिन १/१ राष्ट्रिय कलाकारलाई बोलाउने र स्थानीय कलाकारहरूलाई विशेष प्राथमिकता दिने बताए । महोत्सवमा यस क्षेत्रका विभिन्न उत्पादनहरूको प्रर्दशनी तथा कृषि र पर्यटनको प्रर्वद्धनका लागि विभिन्न स्टलहरू महोत्सव स्थलमा राखिने जनाइएको छ ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषि प्रदर्शनीका स्टलहरुलाई निशुल्क गरिने पनि उनले बताए । महोत्सवको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्याेग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जमसेर अलि मियाको प्रमुख आतिथ्यतामा रहेकाे थियाे ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष किरणमान बज्राचार्य , अकोराब लुम्बिनी प्रदेश अध्यक्ष राजु खराल लगायतले मेला सफल बनाउन संचार क्षेत्रको उल्लेखनीय भुमिका रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।












