अर्घाखाँची । नेपाल औषधि व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा राम प्रसाद अधिकारी निर्वाचित भएका छन् ।
आज सन्धिखर्कमा भएको नेपाल औषधि व्यवसायी संघको छैटाैँ जिल्ला अधिवेशनले अधिकारीको अध्यक्षतामा ९ सदस्यीय नेपाल औषधी व्यवसायी संघ अर्घाखाँची शाखाको कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा कृष्ण प्रसाद बन्जाडे, महासचिव तुल्सिराम मिश्र, सचिव सुर्य बहादुर थापा, कोषाध्यक्ष विष्णु भुसाल र उप कोषाध्यक्षमा रुद्र खनाल रहेका छन् । जसको सदस्यमा कुमारी सिता आचार्य, नितेश भुसाल र केशव भट्टराई रहेको निर्वाचन समितिका संयोजक कृष्ण बर्माले जानकारी दिए ।
कार्यक्रममा नव गठित कार्य समितिलाई निर्वाचन समितिका संयोजक कृष्ण वर्मा, नेपाल औषधी व्यवसायी संघका प्रदेश सदस्य नारायण पौडेल, पूर्व अध्यक्ष दलबहादुर केसी, लिलामणि ढुंगाना, निवर्तमान अध्यक्ष प्रेम बहादुर पछाइ, पत्रकार महासङ्घका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नवगठित अध्यक्ष राम प्रसाद अधिकारी र महासचिव तुल्सिराम मिश्रले प्रतिबद्धता मन्तव्य राखेका थिए ।
राज्यले औषधी बेच्दा व्यवसायी मर्कामा
राज्यले औषधी बेच्दा व्यवसायीहरू मर्कामा परेको व्यवसायीहरूको गुनासो रहेको छ । नेपाल औषधी व्यवसायी संघ अर्घाखाँचीको छैठोँ जिल्ला अधिवेशनमा बोल्ने वक्ताहरूले एउटै व्यवसाय तीन चार स्थानमा दर्ता गर्नु परेको पनि गुनासो गरेका छन् ।
नेपाल औषधी व्यवसायी महासङ्घका केन्द्रिय बरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले निजी अस्पताल र औषधी व्यवसायीलाई सुरक्षा दिने बाहेक कुनै सेवा सुविधा नदिएको आरोप लगाए । उनले औषधी व्यवसायीहरूले ३९ प्रतिशत सम्म कर तिर्नु परेको बताए । सरकारी निकाय एक स्थानमा मात्र दर्ता गरेर व्यवसाय सञ्चालन गर्न पाउने गरी नीति बनाउन पनि माग गरे ।
नेपाल औषधी व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवालीले बिमाबाट उपचार गर्ने नाममा अस्पताल भित्रै औषधी बिक्री गर्दा औषधी व्यवसायी समस्यामा परेको गुनासो गरे । सरकारी अस्पतालले औषधी फार्मेसी सञ्चालन गरेर मुनाफा कमाएको उनको आरोप छ ।
पानीको मूल्य समेत होटल र पसलै पिच्छे फरक फरक हुने तर देशभर एउटै एमआरपीमा औषधी बेच्दा पनि सरकारले हेर्ने दृष्टिकोण फरक रहेको प्रदेश अध्यक्ष ज्ञवालीको भनाई छ । उनले औषधी व्यवस्था विभागमा दर्ता नभएका र फार्मेसीले बेच्न नमिल्ने औषधीहरू बिक्री नगर्न पनि अर्घाखाँचीका औषधी व्यवसायीहरूलाई आग्रह गरे ।
नेपाल औषधी व्यवसायी संघका जिल्ला अध्यक्ष प्रेम बहादुर पछाईको अध्यक्षता, महासचिव तिलक मिश्रको सञ्चालन र उपाध्यक्ष टंक प्रसाद भुसालको स्वागत मन्तव्यमा सम्पन्न भएको छैटाैँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा नेपाल औषधी व्यवसायी संघका केन्द्रिय सदस्य सरला कुमारी विष्ट, प्रदेश समितका अर्घाखाँची इन्चार्ज थानेश्वर अर्याल, प्रदेश सदस्य नारायण पौडेल, मालारानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भविश्वर खनाल, पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष हिमबहादुर जिसी (लेकाली) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष लिलामणि ढुंगाना, शसी मेडिकलका सञ्चालक शसी गौतम र पम्फा मेडिकलका हिराकुमार श्रेष्ठलाई खादा, माला र सम्मान पत्रले सम्मान गरिएको थियो । अर्घाखाँची औषधी व्यवसायी सङ्घमा ५६ जना औषधी व्यवसायीहरू रहेका छन् ।