काठमाडौं ।
नेपाली राष्ट्रिय पोसाक दिवस एवं नेपाली ढाका टोपी दिवसलाई नै ओझेल पार्ने एवं समस्त नेपाली संस्कृतिलाई विखण्डन गर्ने उद्देश्यले एकाएक धोती दिवस मनाउने सिके रावत समूहको कार्यक्रम एवं अभियानप्रति विश्व हिन्दु युवा संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
धोतीलाई पनि पूर्वीय संस्कृतिले विशेष पोसाकका रुपमा स्वीकार गरिरहेको छ; यद्यपि आजको माइतीघरमा आयोजना गरिएको कार्यक्रम नितान्त विखण्डकारी उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष विश्व हिन्दु युवा संघले निकालेको छ । हरेक पोसाकको आफ्नै इज्जत हुने र आज मण्डलामा आयोजित कार्यक्रममा सिके रावत समूहले पाइण्टमाथि धोती लगाएर दिवस मनाएको दृश्यले धोतीको गरिमामाथी नै प्रश्नचिह्न खडामात्रै गरेको छैन, धोतीको प्रयोग गर्ने आम मधेसी समुदायलाई नै लज्जित बनाएको ठहर संघले गरेको छ ।
राज्यको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका कुनै पनि व्यक्तिले राष्ट्रियता बिरोधि हर्कत गरेमा जोसुकैलाई जनताले थाहा पाउनेगरि कारबाही गर्न र यस्ता दुष्प्रयास गर्ने वातावरणलाई रोक्ने खालका कदम चाल्नसमेत अनुरोध विश्व हिन्दु युवा संघले गरेको छ ।