दोहा, कतार । मोरङ सुनसरी सेवा समाज कतारको आयोजनामा ‘बृहत् रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ l नेपाली रक्तदाता संघ, कतारको समन्वयमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर हमाद अस्पतालमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो l
कतारको सरकारी अस्पताल हमाद अस्पतालमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदानको शुभारम्भ समाजका अग्रज व्यक्तित्व द्रोण बस्नेतले गरेका थिए । कार्यक्रममा संघीय सांसद, पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् नेकपा एमालेका सचिव गोकर्ण विष्टको विशेष उपस्थिति रहेको थियो l
कार्यक्रममा गैरआवासीय नेपाली संघ कतार , नेपाली महिला समाज कतार लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । १ सय ४७ जनाको उपस्थिति रहेको कार्यक्रममा ४४ जनाले रक्तदान गरेको समाजका अध्यक्ष भीम विश्वकर्माले जानकारी दिए । प्रवासमा रगत अभाव कै कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले अंग्रेजी नयाँ वर्षको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको उनले बताए । रक्तदान पुण्यको कार्य भएको र कतारमा क्रमशः विभिन्न संघ संस्थाहरूले पुण्यको कार्यलाई निरन्तरता दिएकोमा रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले खुशी व्यक्त गरेका थिए ।
समाजका तर्फबाट रक्तदातालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । रक्तदान जस्तो पुण्यको कार्यमा सरिक भएका सम्पूर्णलाई आयोजक संस्थाले धन्यवाद तथा आभार प्रकट गरेको छ ।













