कपिलवस्तु । कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा प्रथम कपिलवस्तु राष्ट्रिय मूर्ति कार्यशाला २०८० सोमबारदेखि शुरु भएको छ । कार्यशाला आगामी माघ ८ गतेसम्म सञ्चालन हुनेछ । शाक्यमुनि बुद्धको जीवनको उत्तरार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु प्रनजीतलाई झुक्याएर शाक्यपुत्री भनी दासीपुत्रीसँग विवाह गरिदिएको र प्रतिशोधबश कपिलवस्तु राज्यका हजारौं शाक्यहरुको सामूहिक बध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ ।
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ कि.मी र तिलौराकोटबाट ६ कि.मी. उत्तरमा रहेको छ भने पूर्व पश्चिम राजमार्गको बनगाईबाट ७ कि.मी तथा नेपालको दोस्रो पंक्षी आरक्षण जगदिशपुर तालको दक्षिणमा रहेको छ । सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौं स्तुपहरूको निर्माण गरेको चीनियाँ यात्री हुयन् साङ्को सन् ६३६ को यात्रा बृतान्तमा उल्लेख गरिएको पाइन्छ ।
सन् १८९७ मा डा। फुरर्हरद्वारा गरिएको उत्खनन तथा अन्वेषणमा शाक्य सेनाहरुको सम्झनामा १७ वटा निर्माण गरिएका ठूला वर्गाकार स्तुपहरु र धेरै संख्यामा साना स्तुप भेटिएको थियो । स्तुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामग्री प्राप्त भएका थिए । जगदिशपुर तालको काखैमा रहेको लम्बु सागर रुपमा परिचित सगरहवा ५२ विघा क्षेत्रफलमा फैलिएको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले मूर्ति बनाइने ढुंगालाई हम्मर र छिनोले खोपेर कार्यशालाको शुभारम्भ गरे । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यलयका लुम्बिनी प्रदेश रूपन्देही सहित स्थानीय सङ्घसंस्थाहरूको आयोजनामा कार्यशाला शुरु भएको हो । उपाध्यक्ष लामाले सगरहवा स्थानीयहरुकै कारण संरक्षण हुने बताउँदै मूर्ति कार्यशालाबाट कुँदिएका मूर्तिहरूको संरक्षणमा लाग्नुपर्ने बताए । उनले कपिलवस्तु ऐतिहासिक र पुरातात्विक स्थलहरू धेरै रहेको जिल्ला भएकाले यसको विकासका लागि लुम्बिनी विकास कोषले काम गरिरहेको बताए ।

कार्यक्रममा कोषका कोषाध्यक्ष एवं कार्यशाला निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सगरहवामा शाक्य गणराज्यको उत्थान र पतनसंग गाँसिएका विभिन्न कथाहरूलाई मूर्तिमा कलाकारहरूले उतार्ने बताए । कार्यशालाबाट तयार भएका मूर्तीहरुले सगरहवाको ऐतिहासिक र पुरातात्विक महत्व उजागरसँगै पर्यटक आउने वातावरण बनाउने उनले बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख दिनेश्वर महतोले पुरातात्विक र ऐतिहासिक बिषयसँग जोडेर मूर्ति निर्माणको काम शुरु गरिएको बताए । उनले अरनिको स्मृती दिवसको अवसर पारेर ऐतिहासिक स्थलमा मूर्ति निर्माणको कामको थालनी हुनु निकै खुशीको कुरा भएको बताउँदै कलाको विकासमा सबैसँग जोडिएर अगाडि बढ्न चाहेको बताए ।
सञ्चार प्रवर्द्धकको रुपमा नेपाल पत्रकार महासंघ कपिलवस्तु, लुम्बिनी पर्यटन पत्रकार संघ, पर्यटन प्रवर्द्धकको रुपमा ड्रिम देवदह रूपन्देही र नाटा लुम्बिनी प्रदेश रहेका छन् । स्थानीय प्राचीन कपिलवस्तु सरोकार मञ्च, कपिलवस्तु जगदिशपुर जलासय व्यवस्थापन बहुसरोकार मञ्च कपिलवस्तु सहसंयोजकको रुपमा रहेका छन ।












