कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले तीनजना महिला र दुई जना पुरुषलाई २४ केजी ५६० ग्राम लागू औषध चरेससहित आइतबार साँझ नियन्त्रणमा लिएको छ ।
रुकुम पूर्वबाट कृष्णनगर हुँदै भारत तर्फ जाँदै छ भन्ने प्राप्त गोप्य सूचनाको आधारमा शंका लागि प्रहरीले कृष्णनगर बजारक्षेत्रमा ती व्यक्तिहरूलाई चेकजाँच गरेको थियो ।
खनियाबास ५ धादिङका ५९ वर्षीय सेती तामाङको साथमा ५ किलो ५५५ ग्राम, सोही स्थानका ६६ वर्षीय रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम, सोही स्थानका ५२ वर्षीय साङ जोङ तामाङनिको साथमा ५ किलो ४८० ग्राम, सिद्धकुमाख ४ सल्यानका ४० वर्षीय थल बहादुर रोकाको साथमा ४ किलो ६१५ ग्राम र भुमे २ रुकुम पूर्वका ३७ वर्षीय भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागू औषध चरेस फेला परेको हो ।
निजहरूको कम्मरमा कपडाको पेटी बनाई बाधी लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले खानतलासी गरि उक्त लागू औषध बरामद गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा भावना बुढा मुख्य कारोबारी भएको खुलेको छ । भरिया मात्र पक्राउ परेर मुख्य कारोबारी उम्कन्थे तर यो घटनामा भने कपिलवस्तु प्रहरी सफल रह्यो ।
धादिङकी सेती तामाङ पेसेवर भरिया हुन । उनी यस अघि धादिङ र कृष्णनगरबाट लागू औषध चरेससहित पक्राउ परेर मुद्दा खेपिसकेकी पात्र हुन । उनी धरौटीमा छुटेदेखि प्रहरीले निगरानी गरिरहेको थियो ।
भुमेकी भावना दाङको लमही बसोबास गर्छिन् भने बाकी ४ जना भारतमा मजदुरी गर्ने बुझिएको छ।
नियन्त्रणमा लिइएका पाँचै जनाको थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।