सरकारले मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस कोटाबाट नियुक्त प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । उनीहरूको ठाउँमा नयाँ नियुक्तिको सिफारिस सरकारले गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माका अनुसार मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरिएको छ । यसअघि प्रदेश प्रमुख रहेका मधेशका हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गर्न सिफारिस गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
सिफारिस भएका तीनैजना एमाले नेता हुन् । भण्डारी केपी ओली प्रधानमन्त्री हुँदा डेनमार्कको राजदूतमा सिफारिस भएकी थिइन् । तर, सरकार ढलेपछि उनको नियुक्ति भएको थिएन । झापा घर भएकी भण्डारी अनेमसंघकी नेतृसमेत हुन् । मियाँ एमालेका केन्द्रीय सल्लाहकार हुन् । मुस्लिम इत्तेहादका पूर्वअध्यक्षसमेत रहेका उनी संविधानसभा सदस्य हुन् । उनी अर्घाखाँचीका हुन् । भट्ट पनि एमालेका सल्लाहकार हुन् । डोटी घर भएका उनी राष्ट्रिय सभाको अघिल्लो निर्वाचनमा उम्मेदवार थिए ।
केन्द्र र प्रदेश सरकारबीच आवश्यक समन्वय गर्न नयाँ प्रदेश प्रमुख सिफारिस गरिएको सञ्चारमन्त्री शर्माले बताइन् । ‘प्रदेश र केन्द्र सरकारको बीचमा आवश्यक समन्वय जरुरी हुन्छ । अहिले प्रदेशहरूमा देखिरहेकै छौँ । कतै विश्वासको मत फिर्ता लिने त कतै मन्त्रीहरूलाई बर्खास्त गर्ने काम भइरहेको छ । त्यसकारण राजनीतिक रूपमा सरल र सहज होस्, प्रदेश र केन्द्रको राजनीतिक दृष्टिकोण समान होस् भनेर सिफारिसहरू गरिएका हुन,’ उनले भनिन् । नयाँ समीकरण बनेपछि त्यसको असर प्रदेशमा पनि देखिन थालेको छ । प्रदेशहरूमा मन्त्रीहरू बर्खास्त र हेरफेर भइरहेको वेला सरकारले प्रदेश प्रमुख पनि हेरफेर गरेको हो । यसअघि पनि केन्द्रमा सत्तासमीकरणमा परिवर्तन हुँदा प्रदेश प्रमुखलाई पदमुक्त गरेर नयाँ नियुक्त गरिएको थियो ।
गृहसचिवमा अर्याल
गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत अर्याललाई गृहमा सरुवा गरेको हो । यसअघि उनले संघीय मामिला तथा सामान्य प्रशासन र श्रम मन्त्रालयको सचिवका रूपमा काम गरिसकेका छन् । सहसचिव हुँदा गृह प्रशासनमा काम गरेका उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारीसमेत भएका थिए । हालका गृहसचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ ।