कपिलवस्तुमा श्रद्धापूर्वक मनाइँदै मोहर्रम पर्व, झल्कियो धार्मिक सद्भाव

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुमा हिन्दू र मुस्लिम समुदायले मिलेर धार्मिक सद्भावका साथ मुहर्रम पर्व मनाएका छन्।
  • मुस्लिम समुदायले इमाम हुसैनको सम्झनामा विशेष प्रार्थना र ताजिया विसर्जन गरी पर्व मनाएका छन्।
  • दुवै समुदायको सहभागिताले जिल्लामा सामाजिक एकता र धार्मिक सहिष्णुताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

कपिलवस्तु : कपिलवस्तुमा धार्मिक सहिष्णुता, आपसी भाइचारा तथा सामाजिक सद्भावको अनुपम उदाहरण प्रस्तुत गर्दै ऐतिहासिक मुहर्रम पर्व श्रद्धा र सम्मानका साथ मनाइएको छ। मुस्लिम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मुहर्रमका अवसरमा जिल्लाका विभिन्न स्थानमा हिन्दू र मुस्लिम समुदायले संयुक्त सहभागितामार्फत धार्मिक एकता र सामाजिक सद्भावको सन्देश दिएका छन्।

पर्वका अवसरमा दुवै समुदायका नागरिकहरूले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए। मुस्लिम समुदायले हजरत मोहम्मद मुस्तफा (सल्लल्लाहु अलैहि वसल्लम) का नवासा (नाति) हजरत इमाम हुसैनको सम्झनामा विशेष रोजा (व्रत) बस्ने, नमाज अदा गर्ने, मस्जिदहरूमा पवित्र कुरान पाठ गर्ने तथा दुआ प्रार्थना गर्ने धार्मिक परम्परा निर्वाह गरेका थिए। साथै मुलुकमा स्थायी शान्ति, सद्भाव, समृद्धि र मानव कल्याणको कामना समेत गरिएको थियो।

जिल्लाका सयभन्दा बढी स्थानमा रहेका कर्बलाहरूमा लागेको परम्परागत मेलामा हजारौँ श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मुस्लिम धर्मगुरुहरूका अनुसार करिब १४ सय वर्षअघि कर्बलाको युद्धमा इमाम हुसैनले सत्य, न्याय र इस्लाम धर्मको संरक्षणका लागि संघर्ष गर्दा महिला, वृद्ध तथा अबोध बालबालिकासमेत ७२ जना परिवारजन र अनुयायीहरूले शहादत प्राप्त गरेका थिए। अन्याय र अत्याचारविरुद्धको त्यही ऐतिहासिक बलिदानको सम्झना र सम्मानस्वरूप विश्वभरका मुस्लिम समुदायले मुहर्रम पर्व मनाउने परम्परा रहिआएको छ।

सोही शहादतको स्मरणमा स्थापित ताजियालाई श्रद्धापूर्वक विभिन्न कर्बलाहरूमा विसर्जन गरिएको थियो। स्थानीय जनविश्वासअनुसार ताजियाको दर्शन तथा भाकल गर्दा पारिवारिक सुख, समृद्धि र मनोकामना पूरा हुने विश्वास रहेकाले हिन्दू समुदायको समेत उल्लेखनीय सहभागिता रहने गरेको छ।

मुहर्रमको विशेष रौनक सदरमुकाम तौलिहवामा देखिएको थियो। तौलिहवास्थित विभिन्न घरहरूमा राखिएका ताजियालाई नगर परिक्रमा गराई कपिलवस्तु नगरपालिका–१ स्थित कर्बलामा विसर्जन गरिएको थियो। सो क्रममा मुस्लिम समुदायका युवाहरूले ‘या अली, या हुसैन’ को नारा लगाउँदै परम्परागत युद्धकलाको प्रदर्शन गरेका थिए।

धार्मिक तथा सांस्कृतिक एकताको सुन्दर उदाहरण प्रस्तुत गर्दै उक्त कार्यक्रममा हिन्दू समुदायका नागरिकहरूले ढोल, तासा र नगाडा बजाएर मुस्लिम समुदायलाई साथ दिएका थिए। मुहर्रमको अवसरमा कपिलवस्तु नगरपालिका–१ स्थित मस्जिद टोलका स्थानीयहरूले श्रद्धालुहरूका लागि खीर, पानीलगायत विभिन्न परिकार वितरण गरेका थिए।

अरबी पात्रोअनुसार हिजरी संवत्को पहिलो महिना मुहर्रमको दशौँ दिन अर्थात् आशुराको अवसरमा विशेष कुरान पाठ गर्ने, रोजा बस्ने तथा बेलुका खिचडा पकाएर खाने परम्परा रहेको छ। कपिलवस्तुमा परापूर्वकालदेखि कायम रहेको साझा सहभागिता र धार्मिक सहिष्णुताको यो परम्पराले नेपाली समाजको धर्मनिरपेक्षता, आपसी सद्भाव तथा सांस्कृतिक एकताको सन्देशलाई थप सशक्त बनाएको स्थानीयवासी बताउँछन्।

यसैबीच, मुहर्रम पर्वको गरिमा र संवेदनशीलतालाई सम्मान गर्दै कपिलवस्तु नगरपालिकाले शुक्रबार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको थियो। नगरपालिकासँगै जिल्लाका अन्य केही स्थानीय तहहरूले पनि मुहर्रमको अवसरमा स्थानीय बिदा घोषणा गरेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?