अर्घाखाँची ।
वैदिक सनातन धर्मसेवा समाज, अर्घाखाँचीले एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरेको छ ।
सस्थाका गतिविधिहरुलाई पारदर्शी एवम् व्यवस्थित बनाउदै लैजाने उद्देश्यले कार्यालयको शुभारम्भ गरिएको हो ।
वि.सं. २०७१ सालमा अनौपचारिक रूपमा सुरुवात गरिएको यो संस्था २०७८ सालदेखि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा विधिवत् रूपमा दर्ता भई आफ्ना धार्मिक तथा सामाजिक कार्यक्रमहरूलाई अगाडि बढाउँदै आएको छ । एउटा झोलामा आवश्यक कागजपत्र राखेर कार्यक्रम सञ्चालन गर्दै आइरहेको उक्त संस्थाले आजदेखि पाणिनि ५, मैदानमा रहेको साविक गा.वि.स. भवनलाई आफ्नो कार्यालयका रुपमा प्रयोगमा ल्याउने भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका तर्फबाट उपाध्यक्ष विष्णुप्रसाद घिमिरेले एउटा धार्मिक एवम् सामाजिक संस्थालाई कार्यालयको रूपमा भवन उपलब्ध गराएकोमा पाणिनि ५ मैदानका वडा अध्यक्ष इन्द्रमणि घिमिरेलाई धन्यवाद प्रदान गरेका थिए। त्यसैगरी कार्यक्रममा बोल्ने वक्ताहरुले वैदिक सनातन धर्म सेवा समाज अर्घाखाँची का गतिविधिहरु अत्यन्तै सान्दर्भिक र समाज उपयोगी रहेको निष्कर्ष समेत प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं पाणिनी ५ मैदानका वडा अध्यक्ष इन्द्रमणि घिमिरेले वैदिक सनातन धर्मसेवा समाज नामक संस्थासँग आफु सधैं साथमा रहने र आवश्यक सहयोगको लागि पछि नहट्ने बताएका छन् । कार्यक्रममा नेपाली काङ्ग्रेस, पाणिनि-५, मैदानका सभापति गणेश घिमिरे, सस्थाका सदस्य हिमलाल पौडेल, आजीवन सदस्य देवीप्रसाद पोख्रेल, रामप्रसाद घिमिरे, पत्रकार कमला घिमिरे लगायतले मन्तव्य राखेका थिए ।
पाणिनि-५, मैदानमा आयोजित उक्त कार्यक्रममा वैदिक सनातन धर्मसेवा समाजका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू, आजीवन सदस्यहरू तथा धर्मप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख आतिथिको रूपमा पाणिनि- ५, मैदानका वडा अध्यक्ष इन्द्रमणि घिमिरे एवम् अध्यक्षता संस्थाका अध्यक्ष चन्द्रमणि घिमिरेले गरेका थिए भने कार्यक्रमको सन्चालन महासचिव अनन्तप्रसाद घिमिरेले गरेका थिए ।