अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले पाटीको संगठन सुदृढीकरणको सय दिने अभियान शुरु गरेको छ ।
अभियानका लागि अर्घाखाँची कांग्रेसले पुर्व सभापति महासमिति, महाधिबेसन प्रतिनिधि जिल्लाका पदाधिकारी समेतलाई ६ स्थानीय तहका ६१ वटै वडाका लागि प्रतिनिधि खटाएको नेपाली कांग्रेस अर्घाखाँचीका सचिव कृष्ण प्रसाद खनालले बताउनुभयो ।
अभियान संचालनका लागि कांग्रेस केन्द्रीय समितिले अर्घाखाँचीमा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य संजय गौतमलाई खटाएको छ । अर्घाखाँचीमा खटिनुभएका प्रतिनिधिसभा सदस्य संजय गौतमले जिल्लामा चुनाबमा पराजित भएर छिन्नभिन्न भएको कांग्रेसलाई यो अभियानमा एकढिक्का बनाउन लागि पर्ने बताउनुभयो ।
सय दिनको अभियानका क्रममा कार्यालयलाई ब्यवस्थित गर्ने, मासिक रुपमा सबै तहका बैठक र वडातहसम्मै यथाशीघ्र सम्मेलन गर्ने, बार्षिक कार्ययोजना बनाउने, संगठन बिस्तारका लागि सामाजिक र राजनितिक गतिबिधि बढाएर लैजाने, सदस्यता घर आँगन कार्यक्रमलाई प्रभावकारी बनाउने लगायतका कार्यक्रम वडावडामा हुने कांग्रेस जिल्ला सचिव अच्युत गौतमले जानकारी दिनुभयो ।
यस्तै भातृ र शुभेच्छुक संगठनमा रिक्त पदपूर्ती गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान, द्वन्द्व पीडित, घाइते र शहिद परिवारको सम्मानका कार्यक्रम पनि गर्ने नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशब श्रेष्ठले जनाउनुभयो ।
तीन महिना संचालन हुने अभियान आउँदो पुष १६ गते बीपी जयन्तीका दिन समापन हुनेछ ।