अर्घाखाँची । अर्घाखाँची जेसीजले प्रस्तावित जेसीजको रूपमा मान्यता प्राप्त गरेको छ । युवा नेतृत्व विकासमा केन्द्रीत यो संस्था अब जेसीज नेपालको आधिकारिक शाखाको रुपमा विस्तार हुने भएको छ ।
गत मंसिर ११ गते बुटवल जेसीजले अर्घाखाँचीको सम्भाब्यता अध्ययन गरी केन्द्रमा सिफारिस गरेको थियो । बुटवल जेसीजको प्रस्ताव र बुद्धभूमि जेसीजको समर्थनमा प्रस्ताव भएको थियो । इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ महाधिवेशनको महासभाले अर्घाखाँचीलाई सम्बन्धन दिने निर्णय गरेको थियो । उक्त निर्णयसँगै अर्घाखाँची जेसीज प्रस्तावित अर्घाखाँची जेसिजको रुपमा रहने र आगामी वर्ष देखि मान्यता पाउने छ ।
अर्घाखाँची जेसीजका अध्यक्ष ओमहरि आचार्यले समाचारपोष्टसंग कुराकानी गर्दै सम्बन्धन प्राप्त गरेकोमा खुसी व्यक्त गरे । उनले युवा शक्तिलाई सकारात्मक दिशामा अगाडि बढाउन संस्था प्रतिबद्ध रहने बताए। आगामी दिनमा नेतृत्व विकास तालिम, उद्यमशीलता कार्यशाला, र सामुदायिक सेवा कार्यक्रमहरू सञ्चालन गरिने योजना समेत उनले सार्वजनिक गरे।
यस्तै बुटवल जेसीजका अध्यक्ष बिनोद घिमिरेले सम्बन्धन प्राप्तिले अर्घाखाँचीमा नेतृत्व विकास, उद्यमशीलता प्रोत्साहन, र सामुदायिक विकासका गतिविधि थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।
अर्घाखाँची जेसीजले स्थानीय युवाहरूलाई विश्वव्यापी सञ्जालसँग जोड्दै क्षमता विकास गर्ने लक्ष्य राखेको छ। यसले जिल्लामा आर्थिक र सामाजिक क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।