अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ अन्तर्गतको पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई पालीको कोट मन्दिरमा सम्पन्न भएको हो ।
बोर्डरलेस मिडिया हव प्रा.लि. अर्घाखाँचीले सहजीकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले पहिलो चौमासिक अवधिसम्म सम्पन्न गरेका विकास निर्माण, सेवा प्रवाह, सुशासन, पारदर्शिता र आगामी रणनीतिका विषयमा सेवा प्रदायक संस्था र सेवाग्राहीबीच छलफल, बहसका माध्यमबाट सुनुवाई गरेको हो । पाणिनी गाउँपालिका वडा नं. ७ र ८ का सेवाग्राहीलाई लक्षित गरि पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम पालीमा गरिएको थियो ।
कार्यक्रममा सेवाग्राहीबाट उठेका प्रश्न, जिज्ञासाको जवाफ दिदैं गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले पालिकाबासिको आवश्यकतालाई मध्यनजर गर्दै पाणिनीको समग्र विकासका निम्ति गाउँपालिका लाग्ने बताउनुभयो । कार्यक्रमका प्रमुख वक्ता समेत रहनु भएका न्यौपानेले सेवाग्राहीका रचनात्मक सल्लाह सुझावलाई मनन गर्दै आगामी दिनमा थप सशक्त भएर जनताका पीर मर्कालाई समाधान गर्दै आवश्यकताका आधारमा योजना निर्माण गर्ने बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष नर्मदा गौतम पौडेलले पालिकाभित्रका पसल, व्यवसायको अनुगमन कार्यलाई थप मजबुत बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । सेवाग्राहीबाट “बजार र योजना/आयोजनाको अनुगमन कार्य फितलो भयो” नि भन्ने जनगुनासो आएकोमा अबका दिनमा अनुगमनको पाटोलाई गुनासो नआउने गरी लाग्ने बताउनुभयो ।
यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले कार्यालयलाई सुशासनमैत्री, पारदर्शिता र सेवामुखी बनाउन कुनै कसर बाकी नराख्ने धारणा राख्नुभयो । कर्मचारी तहबाट कहि कतै लापरबाही भएको थाहा पाए कारबाहीको दायरामा ल्याउने प्रशासकीय अधिकृत न्यौपानेले प्रतिवद्धता व्यक्त समेत गर्नुभयो ।
यस्तै पाणिनी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष तथा प्रवक्ता गुणाखर अधिकारी र वडा नं. ८ का वडाध्यक्ष रोम बहादुर पाण्डे क्षेत्रीले वडाका विषयमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिदैं वडाबासिहरुको आवश्यकतालाई मध्यनजर गर्दै योजनाहरु छनौट गरिरहेकाे र आगामी दिनहरुमा समेत नागरिककाे हितमै काम गर्ने बताएका थिए ।
कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी कमिटी सदस्य कुटमदिन अलि, नेपाली काँग्रेस पाणिनी गाउँ कार्यसमिति सभापति तुल्सी पौडेल लगायत अन्य सेवाग्राहीहरुले पाणिनीको विकास र समृद्धिका निम्ति रचनात्मक सल्लाह सुझाव दिनु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा करीव १५ जना सेवाग्राहीहरुले विभिन्न प्रश्न, गुनासा, सल्लाझ सुझाव राख्नु गर्नुभएको थियो । कार्यक्रममा सार्वजनिक सुनुवाई कार्यक्रमका सहजकर्ता लक्ष्मण घिमिरेले नागरिकहरुसँग संकलन गरिएको नागरिक प्रतिवेदन र बहिर्गमन अभिमत फारामको रिपोर्ट प्रस्तुत गर्नुभयो ।
कार्यक्रम गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको कार्यक्रममाथी प्रकाश, प्रगति विवरण प्रस्तुत र सहजकर्ता बिष्णु खनालको संचालनमा सम्पन्न भएको हो ।