काठमाडौं । नेपाल शिक्षक महासङ्घले सम्पूर्ण शिक्षक कर्मचारीलाई काठमाडौमा बोलाएको छ । नयाँ शिक्षा ऐन जारी गराउन दबाब दिने उद्देश्यले काठमाडौमा बोलाएको हो ।
नेपाल शिक्षक महासङ्घ २०८१ माघ २० गतेबाट निरन्तर आन्दोलनमा छ । यसैकममा २०८१ चैत्र २० गतेबाट काठमाडौ केन्द्रित शैक्षिक सडक आन्दोलन गर्दै आएको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन भएकोले देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आउनुहुन सबै प्रधानाध्यापक, शिक्षक-कर्मचारीहरुलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ ‘ काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्र.अ.तथा शिक्षक-कर्मचारी साथीहरुमा आग्रह गर्दछौ।’ त्यसैगरी २०८२ बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई अपीलसमेत महासङ्घले गरेको छ ।