काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूले अब प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने अडान लिएका छन्।
आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघका राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नरहेको बताएका छन्। सुवेदीले सरकारले आफूहरूले प्रस्तुत गरेका समाधानका उपायप्रति कुनै चासो नदेखाएको आरोप लगाए।
‘हामीले सरकारलाई समाधानका उपायहरू लिखित रूपमा बुझाएका छौं, तर सरकारले कुनै चासो देखाएको छैन। अब हामी प्रधानमन्त्री बाहेक अरुसँग वार्ता गर्दैनौं,’ सुवेदीले भने। साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको मागप्रति बेवास्ता गरेको पनि उनले गुनासो गरे।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू अहिले काठमाडौं केन्द्रित आन्दोलनमा छन्। आन्दोलनका विभिन्न चरण पार गर्दै उनीहरू गत चैत २० गतेदेखि माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन्।