काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार अपेक्षित ढंगले काम गर्न नसकेको भन्दै आलोचना गरेका छन्।
बौद्धिक पेसाकर्मी अभियान परिषद्ले काठमाडौंमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले सरकारको सुस्त गतिका कारण जनतामा असन्तुष्टि बढेको बताए।
“देशलाई अङ्कडाको स्पिड चाहिएको छ, तर सरकार ट्याक्टरको स्पिडमा छ,” उनले भने, “मानिसको अपेक्षाको जुन गति छ, त्यो सरकारले पक्रिन सकेको छैन।”
महामन्त्री थापाले आफू सरकारको भागदार नभए पनि कांग्रेसले सकारात्मक भूमिका खेल्न तयार रहेको उल्लेख गरे। तर, सरकारलाई सहयोग गर्दा पनि जनताले अनुभूति गर्न सक्ने किसिमको काम नभएको गुनासो गरे।
“यदि सरकारले गति लिएर काम गरेको भए शिक्षकहरू सडकमा आउनुपर्ने थिएन,” उनले भने, “सरकारले चलाउन नपर्ने कुरा चलाएर आन्दोलन निम्त्याएको छ। हामी रामराम भन्ने अवस्थामा पुगेका छौं, तर गर्ने के त भन्ने प्रश्न उब्जिएको छ।”
उनले कांग्रेस–एमाले गठबन्धनको सरकार भएकाले पार्टीको हैसियतले पनि सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता रहेको बताए। सरकारको कमजोर कार्यक्षमताका कारण पार्टीका तल्ला तहसम्म पनि निराशा फैलिएको उनको भनाइ थियो।
तर उनले खबरदारीलाई सरकार परिवर्तन वा वैकल्पिक राजनीतिक खोजीको सन्देश नभएको स्पष्ट पारे। “हामी राजनीतिक विकल्प होइन, सुधारको पक्षमा छौं,” उनले भने।