सल्यान । पाणिनी गाउँपालिका–६ का कृषकहरुको लागि गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत अवलोकन भ्रमण सुरु गरिएको छ। तीन दिने यो भ्रमण कार्यक्रम जेठ १, २ र ३ गतेसम्म सञ्चालन हुनेछ।
भ्रमणको पहिलो दिन, सहभागी कृषकहरूको टोलीले घोराही उपमहानगरपालिका–१६, दाङस्थित नविनतम कृषि फार्म अवलोकन गरे। २०७८ सालदेखि महेश पौडेलले एकल लगानीमा सञ्चालनमा ल्याएको उक्त फार्म हाल १० बिगा क्षेत्रमा फैलिएको छ, जहाँ टमाटर खेती गरिँदै आएको छ।
उक्त फार्ममा ६५ जना कर्मचारी कार्यरत छन् भने दैनिक २०० देखि ३०० क्यारेट टमाटर उत्पादन भइरहेको छ। फार्म सञ्चालक पौडेलका अनुसार घोराही, धनगढी, कैलाली, कञ्चनपुर, बर्दिया र काठमाडौंसम्म टमाटरको बजार विस्तार गरिएको छ।
उनले फार्मबाट दैनिक राम्रै आम्दानी हुने बताउँदै, आधुनिक कृषि विधिबाट स्वरोजगार र उद्यमशीलता विस्तार सम्भव रहेको उल्लेख गरे। उक्त फार्मबाट टमाटर खेतिको बारेमा कृषकहरुले अनुभव साटासाट गरेका थिए ।
यसपछि टोलीले राप्ती–बबई एग्रीकल्चर प्रा.लि. को पनि अवलोकन गर्यो। रोल्पाका महेन्द्र खड्काले २०७५ सालदेखि व्यवसायिक रूपमा सुरु गरेको यो फार्ममा १३ बिगा जमिनमा मौसमी र बेमौसमी तरकारी खेती हुँदै आएको छ।
करिब १ करोड ५० लाखभन्दा बढीको लगानी रहेको यस फार्मबाट खड्काले बार्षिक २५ लाख रुपैयाँभन्दा बढी नाफा कमाउँदै आएका छन्।
खड्काले सरकारबाट कुनै प्रकारको सहयोग नलिएको उल्लेख गर्दै भने, “अनुदानका लागि प्रक्रिया झन्झटिलो हुन्छ, र वास्तविक कृषकले सहयोग पाउँदैनन्।” यस्ता सफलता प्राप्त कृषकसँगको अन्तर्क्रियाबाट पाणिनीका कृषकहरुले धेरै कुरा सिक्न पाएको जनाइएको छ।
भ्रमणमा कृषक, कृषि प्राविधिक तथा जनप्रतिनिधि गरी ४० जनाको टोली सहभागी रहेको छ। कार्यक्रमले स्थानीय कृषकलाई व्यवसायिक कृषि प्रविधि र सम्भावनाबारे व्यवहारिक ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ ।
भ्रमण पाणिनि गाउपालिकाको लघु उद्यम विकास कार्यक्रम अन्तरगत वडा नम्बर ६ को समन्वयमा सुरु भएको हो । दोश्रो दिन कपूर्कोट गाउपालिकामा रहेको अदुवा अनुसन्धान केन्द्र, मुलपानी उद्यान केन्द्र, बाफुखोलाको आलु पकेटक्षेत्र, सुन्तला पकेट क्षेत्र कोटमौला लगाएतका क्षेत्र अबलोकन गरिने उद्यम विकास सहजकर्ता दिनेश शर्माले जानकारी दिए ।












