काठमाडौं, स्थानिय तह कर्मचारी युनियन नेपाल काठमाडौं महानगरपालिकाको दोस्रो अधिवेशन आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ। अधिवेशनको सभाध्यक्ष मन्जु मास्केले गर्नुभयो भने प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण सबुझ बानियाँको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) का वरिष्ठ उपाध्यक्ष तेजेन्द्र जंग कार्की, उपाध्यक्ष राधिका कुइकेल खनाल, काठमाडौं जिल्ला अध्यक्ष देवी भुसाल, बागमती प्रदेश अध्यक्ष गणेश भट्टराई, तथा स्थानिय तह कर्मचारी युनियन नेपालका केन्द्रीय अध्यक्ष नरबहादुर साउद र वरिष्ठ उपाध्यक्ष रामप्रसाद पौडेलसहितका नेताहरूको उल्लेख्य सहभागिता थियो।

त्यस्तै’कार्यक्रममा काठमाडौँ महानगरपालिकाबाट नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरू, प्रवक्ता नविन मानन्धर, नगर सभापति नीलकाजी बज्राचार्यको समेत बाक्लो उपस्थिति रहेको थियो। साथै, महानगर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, ‘र सम्पुर्ण विभागीय प्रमुखहरू को साथमा ३०० भन्दा बढी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले स्थानीय तहका कर्मचारीहरू मुलुकको परिवर्तनका संवाहक भएको उल्लेख गर्दै उनीहरूलाई अझ संगठित हुने, ट्रेड युनियन गठन गर्ने तथा आफ्ना हक–अधिकारको माग राख्न सक्ने अधिकार रहेको स्पष्ट पारे।कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण सबुझ बानियाँले वडा अध्यक्षहरू केवल वडाको काममा सीमित नभई पार्टीका प्रतिनिधिका रूपमा पनि विभिन्न जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो।
उहाँले काठमाडौं महानगरपालिकामा हुने कामकारबाहीको जस वा अवजस प्रत्यक्ष रूपमा पार्टीको छवि र प्रभावमा पर्ने भएकाले सबै जनप्रतिनिधिले उच्च जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनु भएको थियो। प्रमुख अतिथि सबुज बानियाँले आफ्नो मन्तब्यको क्रममा लोकतान्त्रिक व्यवस्थामा निर्वाचित जनप्रतिनिधिले इमान्दारिताका साथ काम गर्दा कुनै डर, त्रास वा धम्कीपूर्ण वातावरणमा काम गर्न बाध्य पारिने कार्यहरू अस्वीकार्य र अपाच्य रहेको स्पष्ट पार्नुभयो। उहाँले सार्वजनिक सेवा पारदर्शी, उत्तरदायी र नागरिकमुखी हुनुपर्ने बताउनु हुदै राजनीतिक नेतृत्व र कर्मचारीबीच समन्वय, पारदर्शिता र उत्तरदायित्वमा आधारित प्रशासनिक प्रणाली निर्माणको खाँचोलाई संकेत गर्नुभएको थियो ।
वरिष्ठ उपाध्यक्ष तेजेन्द्र जंग कार्कीले कर्मचारीहरू पेशागत ढंगबाट संगठित भई जनताका सेवामा समर्पित हुनुपर्ने बताए। उपाध्यक्ष राधिका कुइकेल खनालले ट्रेड युनियनमार्फत महिलाहरूको नेतृत्व विकास र समान प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। जिल्ला सभापति देवी भुसालले स्थानीय तहका कर्मचारीहरूलाई सेवा प्रदायक मात्र नभई नीति निर्माणको हिस्सेदारका रूपमा समेत अगाडि ल्याउनु पर्ने धारणा राख्नु भयो। आजभोलि महानगरमा कर्मचारीहरूलाई जबरजस्तीको निरंकुश शैलीमा काम गर्न बाध्य बनाइएको प्रति चिन्ता ब्यक्त गरेका थिए ।
कार्यक्रममा नर बहादुर साउदले इमान्दारिताका साथ काम गर्ने वातावरण निर्माण, पारदर्शी प्रशासन, समावेशी नेतृत्व र पेशागत संगठन निर्माणमा युनियनको भूमिका महत्वपूर्ण रहने कुरा बताउनु भयो। अन्त्यमा, सभाध्यक्ष मन्जु मास्केले सबै सहभागीहरूलाई धन्यवाद दिँदै युनियनको भावी कार्यदिशा अझ स्पष्ट र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो। अधिबेशन मा राजाराम मानन्धर को अध्यक्षता मा १५ सदस्यिय समिती निर्बिरोध निर्बाचित भएको छ ।













