कीर्तिपुर । हरेक वर्ष जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आयुर्वेद क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को अगुवाइमा प्रभातफेरी, रक्तदान, वृक्षारोपण तथा सरसफाइ कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन् ।
कार्यक्रमको प्रारम्भ बिहान ७ बजे प्रभातफेरीबाट गरिएको थियो। “सिङ्गो पृथ्वी, समग्र स्वास्थ्यका लागि योग“ भन्ने मूल नारासहितको र्याली क्याम्पस प्राङ्गणबाट सुरु भई कीर्तिपुर रिङरोड परिक्रमा गर्दै सम्पन्न भएको थियो । र्यालीमा आयुर्वेद क्याम्पसका प्राध्यापक, चिकित्सक, विद्यार्थी, लायन्स क्लबका प्रतिनिधि र स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो।
प्रभातफेरीपछि क्याम्पसको धन्वन्तरी हलमा “योगको महत्व र सम्भावना” विषयमा औपचारिक अन्तक्र्रियात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख सह–प्राध्यापक डा. शिव मंगल प्रसाद प्रमुख अतिथिका रूपमा तथा सह–प्राध्यापक डा. विनोद कुमार सिंह विशेष अतिथिका रूपमा सहभागी थिए । साथै, नेपाल विद्यार्थी संघ, आयुर्वेद क्याम्पस इकाइका सभापति इन्द्रमणि बस्यालले पनि मन्तव्य राखेका थिए ।
कार्यक्रमका समापनमा स्ववियू अध्यक्ष निशान अर्यालले स्वास्थ्यप्रति जनचेतना बढ्दो क्रममा रहेको सन्दर्भमा योगको महत्व झनै बढेको उल्लेख गर्दै राज्यले योगलाई नीतिगत प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए । साथै, यूनियनले आगामी दिनहरूमा नियमित योग शिक्षा र थेराप्युटिक योग कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त ग¥यो।
यस अवसरमा त्रिभुवन विश्वविद्यालय लायन्स क्लबको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरिनुका साथै क्याम्पस परिसरमा वृक्षारोपण र सरसफाइ कार्यक्रम पनि गरिएको थियो। यी कार्यक्रमहरूमा शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सक्रिय सहभागिता देखिएको थियो।
स्ववियूको नेतृत्वमा सम्पन्न यी सम्पूर्ण कार्यक्रमहरू आयुर्वेद विभाग, क्याम्पस प्रशासन र लायन्स क्लबको सहकार्यमा आयोजित भएका थिए।













