अर्घाखाँची । पाणिनी गाउँपालिका–३ खिदिम स्थित ऐतिहासिक गौरव र प्राकृतिक सौन्दर्यको संगमस्थल मुर्राकोट, समुन्द्री सतहदेखि करिब १८ सय मिटरको उचाइमा अवस्थित एक अद्भूत गन्तव्य हो, जसले पर्यटकका लागि स्वर्गीय अनुभूति दिने सम्भावना बोकेको छ।
साँझ पख यहाँबाट देखिने सूर्यास्तको दृश्य जोकोहीको मन लोभ्याउने खालको हुन्छ। वरिपरिका पहाड, हरियालीले भरिएका वनजङ्गल, र टाढा टाढासम्म फैलिएका बस्तीहरूको दृश्यावलोकन यहाँबाट सहजै गर्न सकिन्छ। इतिहासमा हेर्ने हो भने, तत्कालीन समयमा यो स्थान भुरे राजाहरूको बासस्थान भएको जनविश्वास छ। उनीहरूले आफ्नो राज्य तथा जनताको सुरक्षाका लागि मुर्राकोटमै आलमदेवी मन्दिरको स्थापना गरेको किम्वदन्ती स्थानीय बासिन्दामाझ आजसम्म प्रचलित छ। यसले मुर्राकोटको धार्मिक र ऐतिहासिक महत्त्व झन् गहिरो बनाएको छ।
पर्यटक भित्र्याउनका लागि यस स्थानको प्रचारप्रसार र विकास हुन आवश्यक छ । यसको विकास प्रचारको लागि सामूहिक पहलको आवश्यकता रहेको सरोकारवालाहरू बताउँछन् । आन्तरिक तथा बाह्य पर्यटकहरू यस स्थानमा ल्याउन सके आर्थिक विकासको अवसर हुनसक्छ । वडा कार्यालयले पनि उक्त स्थानमा विभिन्न कार्यक्रम पनि गर्दै आएको छ, जसले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ ।
यस स्थानमा सहजै पुग्न सकिने मोटरबाटोको सुविधा पुगेको छ। यसले पर्यटकलाई सहज यात्रा अनुभव दिन्छ । स्थानीय वडाले मुर्राकोटको प्रचारप्रसार तथा पूर्वाधार विकासमा विशेष ध्यान दिएको छ। स्थानीय सरकार र वडास्तरका जनप्रतिनिधिहरूले यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक महत्त्व र ऐतिहासिक पृष्ठभूमिलाई संरक्षण गर्दै थप पर्यटक भित्र्याउने लक्ष्यसहित योजनाहरू अगाडि बढाइरहेका छन्। मुर्राकोटलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन यहाँ सुविधासम्पन्न पूर्वाधार, जानकारीमूलक सङ्केत बोर्ड, विश्रामस्थल, र स्वागत केन्द्र स्थापना गर्नेसम्मका योजना अघि सारिएको वडा अध्यक्ष युवराज ज्ञवालीले बताए ।
प्राकृतिक सुन्दरता, ऐतिहासिक पृष्ठभूमि र धार्मिक आस्थाको त्रिवेणीस्थल मुर्राकोट, अर्घाखाँची जिल्लाको भावी पर्यटन केन्द्र बन्ने भरपुर सम्भावना बोकेको छ। यहाँको विकासका लागि स्थानीय तह, समुदाय र सरोकारवालाबीच सामूहिक प्रयास र दीर्घकालीन सोच आवश्यक छ। मुर्राकोट अब कथा मात्र होइन, गन्तव्य बन्ने बाटोमा छ।














