अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने वडा तथा शाखाहरुलाई सम्मान गरेको छ ।
पाणिनि गाउँपालिकाको प्रोत्साहन, पुरस्कार तथा सम्मान सम्बन्धी मापदण्ड २०८१ अनुसार मङ्गलबार बसेको गाउँसभाबाट आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा कार्यालय, गाउँपालिकाका शाखाहरुलाई सम्मान गरेको हो । जस अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढि राजस्व सङ्कलन गर्ने वडा कार्यालय वडा नंं ७ बनेको छ । जसले यस आर्थिक वर्षमा ९ लाख ५४ हजार ४ सय ६४ रुपैयाँ ९६ पैसा राजस्व सङ्कलन गर्न सफल भएको हो । यस्तै वडा नं. ८ धेरै राजस्व सङ्कलन गर्ने वडामा दोस्रो बनेको छ , जसले वडा नं. ७ को तुलनामा १६ हजार कम राजस्व सङ्कलन गरेको राजस्व शाखा प्रमुख कमल न्यौपानेले जानकारी दिए ।
यसै आर्थिक वर्षको जेष्ठ मसान्तभित्रमा सबैभन्दा धेरै योजना तथा कार्यक्रम सम्पन्न गर्ने वडाको रुपमा पनि वडा नं. ७ नै सम्मानित भएको छ । वडा नं. ७ ले आर्थिक वर्ष २०८१/०८२ को जेष्ठ मसान्त भित्र ६८.९७ प्रतिशत कार्य सम्पन्न गरेको थियो । भने वडा नं. २ सबैभन्दा धेरै योजना तथा कार्यक्रम सम्पन्न गर्ने वडामा दोस्रो बनेको छ ।
यस्तै सबैभन्दा धेरै योजना तथा कार्यक्रम सम्पन्न गर्ने विषयगत शाखाको रुपमा शिक्षा युवा तथा खेलकुद शाखा सम्मानित भएको छ । उक्त शाखाले जेष्ठ मसान्तसम्ममा वार्षिक योजना तथा कार्यक्रमको ६६.३५ प्रतिशत कार्य सम्पन्न गरेको थियो । भने पालिकाको स्वास्थ्य शाखा दोस्रो भएको छ ।
ऐतिहासिक राजस्व सङ्कलन
आर्थिक वर्ष २०८१/०८२ मा राजस्व शाखा सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाको रूपमा छानिएको छ। उक्त शाखाले सो वर्षमा कुल १ करोड ४२ लाख ्र४ हजार ६ सय ४२ रुपैयाँ ३१ पैसा राजस्व सङ्कलन गरेको छ, जुन गाउँपालिकाको इतिहासमै अहिलेसम्मकै सबैभन्दा बढी हो।
गाउँपालिकाले आफ्नै स्रोतबाट १ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। सो लक्ष्यको १०७.६२ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गर्दै गाउँपालिकाले ऐतिहासिक कीर्तिमान राखेको हो।
गाउँपालिकाको कुल आम्दानीमध्ये सङ्घीय सरकार र प्रदेश सरकारको बाँडफाँडसहितको कोषमा जम्मा हुने रकम १ करोड १२ लाख ७३ हजार ९ सय ५५ रुपैयाँ ९३ पैसा रहेको छ।
सभाबाट नयाँ बजेट र ऐन पारित, तपोभूमि सम्मेलन खर्च सार्वजनिक
गाउँपालिकाको यही गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट पनि स्वीकृत गरिएको छ। गाउँपालिकाले आगामी वर्षका प्राथमिकता, योजना र नीति अन्तर्गत बजेट पारित गर्दै आगामी कार्यदिशा तय गरेको हो।
त्यस्तै, सभाले आर्थिक ऐन २०८२ र विनियोजन ऐन २०८२ पनि पारित गरेको छ। भने गत चैत्र २७ र २८ गते सम्पन्न ‘पाणिनी तपोभूमि सम्मेलन’ को खर्च विवरण समेत सार्वजनिक गरिएको छ। गाउँपालिकाका अनुसार सम्मेलनमा ६० लाख २८ हजार ३०३ रुपैयाँ खर्च भएको हो।
गाउँपालिकाले सम्मेलनको उपलब्धि, सहभागिता र प्रचार–प्रसारसहितको प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमलाई सफल र ऐतिहासिक भएको उल्लेख गरेको छ।













