अर्घाखाँची । समाजसेवी लङ्कबहादुर केसीको स्मृतिमा पाणिनि बहुप्राविधिक शिक्षालयले एक शोक सभा सम्पन्न गरेको छ। श्रावण ३ गते स्वर्गारोहण भएका केसीको सम्झना गर्दै सोमबार शिक्षालयमा शोक सभा सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी वक्ताहरूले केसीको समाजप्रतिको योगदानको चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले केसीको निधनलाई अकाल्पनिक क्षति भन्दै दुःख व्यक्त गरे । उनले पाणिनि बहुप्राविधिक शिक्षालयको स्थापना र भवन निर्माणका लागि जग्गा खरिदमा गरिएको आर्थिक सहयोगका साथै उहाँको सहजिकरणपूर्ण भूमिकालाई स्मरण गर्दै केसीलाई प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरे।
स्वर्गीय केसीले पाणिनि गाउँपालिकाका दुई वटा एम्बुलेन्स तथा पाणिनि पर्यटन समाजको लागि एक वटा एम्बुलेन्स सञ्चालनमा ल्याउन आर्थिक सहयोग गर्नुभएको थियो । त्यस्तै, पाणिनि बहुप्राविधिक शिक्षालयको भवन निर्माणमा जग्गा किन्न आर्थिक सहयोग लगायत धेरै सामाजिक काममा समेत उहाँको उल्लेखनीय योगदान रहेको थियो ।
पाणिनि गाउँपालिका–३ मा जन्मिएका केसी हाल काठमाडौंमा बसोबास गर्दै आउनुभएको थियो। उहाँ जनता टेलिभिजनका अध्यक्ष समेत हुनुहुन्थ्यो।
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराल, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, वडा नं. २,६,७,८ वडा अध्यक्षहरु क्रमश चन्द्रकान्त पौडेल, कृष्ण पौडेल, गुणाखर अधिकारी, रोमबहादुर पाण्डे, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, पाणिनि बहुप्राविधिक शिक्षालयका शिक्षालय प्रमुख मणि गैरे, भवन निर्माण समितिका संयोजक मणिराम पौडेल, सहसंयोजक, शिक्षक, विद्यार्थि, स्थानीय लगायतको उपस्थिति रहेको थियो । शोकसभामा सहभागीहरूले केसीको समाजसेवाप्रतिको प्रतिबद्धता र योगदानको स्मरण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेका थिए।
साउन ३ गते ७० वर्षको उमेरमा हृदयघातका कारण चितवनमा उहाँको निधन भएको थियो ।












