काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिले तयार पारेको प्रतिवेदन सदस्यहरूलाई अध्ययन गर्न दुई दिन समय दिएको छ।
सोमबार बसेको समितिको बैठकमा प्रतिवेदन वितरण गर्दै ५ भदौमा फेरि बैठक बस्ने र त्यहीँबाट प्रतिवेदन पारित गर्ने कार्यतालिका तय गरिएको हो।
विधेयकको प्रारम्भिक मस्यौदामा १६३ दफा रहेकोमा हाल १७४ दफा समावेश गरिएको छ। यसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई आवास सुविधा दिने प्रावधान प्रस्ताव गरेको छ। सांसदहरूले कम्तीमा दश प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्नुपर्ने माग राखेका छन्।
यद्यपि छात्रवृत्तिको परिमाणबारे सहमति जुट्न नसक्दा प्रतिवेदन पास गर्ने विषय अर्को बैठकसम्मका लागि स्थगित भएको समितिले जनाएको छ।












