अर्घाखाँची । पाणिनि गाउँपालिका वडा नं. ६ मा तीज मिलन तथा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । वडा नं. ६ वडा कार्यालयको आयोजना र धातिवाङ्ग माध्यमिक विद्यालयको संयोजनमा विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको कार्यपालिका सदस्य एवं कार्यक्रम संयोजक तारा पौडेलको अध्यक्षता, वडा अध्यक्ष कृष्ण पौडेलको प्रमुख आतिथ्यता, समाजसेवी डा. इन्द्रमणि पौडेल विशेष अतिथि रहको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण आचार्यले स्वागत मन्तव्य राखेका थिए भने सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
तिज पर्वलाई सांस्कृतिक संरक्षणसँगै महिला सशक्तीकरण र सामाजिक सद्भाव वृद्धिमा योगदान गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा विभिन्न समूह र विद्यालयका विद्यार्थी क्लबहरुले तीज गीतमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ६ समुहको सहभागिता रहेको थियो ।
जसमा कालिका स्वास्थ्य आमा समूह प्रथम, प्रगतिशील स्वास्थ्य आमा समूह द्वितीय, जागरण स्वास्थ्य आमा समूह तृतीय तथा धातिवाङ्ग माध्यमिक विद्यालय बालक्लब सान्त्वना भएका छन् । यो सँगै उनीहरूले क्रमश पाँच हजार, ३ हजार ५ सय, २ हजार र १ हजार ५ सय पुरस्कार समेत हात पारेका छन ।
प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि गोविन्द पौडेल संयोजक तथा अस्मिता परियार, रूकमिणा घिमिरे, शंकर विष्ट र मधु बुढाथोकी निर्णायक मण्डलमा रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष कृष्ण पौडेलले पर्वले समुदायलाई एकजुट गराउने, सहकार्य र सद्भाव बढाउने भन्दै तीज मिलन र तीज गीत प्रतियोगिताले परम्परागत कलासंस्कृतिलाई संरक्षण गर्नुका साथै नयाँ पुस्तामा त्यसको महत्त्व बुझाउने कार्य गरेको बताए ।
यस्तै कार्यक्रमका अध्यक्ष तथा कार्यपालिका सदस्य तारा पौडेलले तीज पर्व हाम्रो मौलिक सांस्कृतिक पर्व मात्र नभई महिलाबीच ऐक्यबद्धता, सद्भाव र आत्मविश्वास बढाउने अवसर पनि भएको भन्दै पर्वलाई भड्किलो बनाउन नहुने बताइन् । पौडेलले पछिल्लो समय दर खाने नाममा तीजलाई भड्किलो र खर्चिलो गराएको भन्दै त्यो तीजको संस्कार नरहेको जिकिर गरिन् ।
त्यस्तै उनले यस किसिमको तीज गीत प्रतियोगिताले महिलाहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिने मात्र नभइ, परम्परागत संस्कृति जोगाउने महत्वपूर्ण माध्यम पनि बनेको भन्दै वडा कार्यालयको तर्फबाट आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्न गरिन् ।
कार्यक्रममा उपस्थित अतिथिहरुले पनि यस्ता सांस्कृतिक कार्यक्रमले समुदायलाई एकजुट बनाउने, परम्परा जोगाउने र नयाँ पुस्तामा सकारात्मक ऊर्जा दिने उल्लेख गरेका थिए।












