अर्घाखाँची । सन्धिखर्क नगरपालिका–३ नम्बर वडाबासीलाई अबदेखि न्यूनतम विद्युत महसुल वडा कार्यालयले नै भुक्तानी गर्ने भएको छ।
वडा कार्यालयले गरेको निर्णय अनुसार ५ एम्पियर (Ampere) भित्रका विद्युत ग्राहकले मासिक २० युनिटसम्मको महसुल वडाबाटै भुक्तानी पाउने छन्। यो व्यवस्था आगामी असोज १ गते देखि लागू हुने भएको हो।
यसका लागि वडाबासीले भदौ १५ गतेदेखि ३१ गतेसम्म आफ्नो ग्राहक नम्बर र नेपाली नागरिकताको प्रतिलिपि सहित वडा कार्यालयमा विवरण दर्ता गराउनु पर्नेछ।
वडा अध्यक्ष जम्शेर मियाँका अनुसार यस निर्णयले वडाभित्रका विपन्न तथा सामान्य परिवारलाई राहत पुग्ने र विद्युत पहुँचलाई अझ सहज बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।













