अर्घाखाँची । नेपाली कांग्रेसकी उपसभापती पुष्पा भुसालले कांग्रेसलाई आसन्न निर्वाचनमा हार्ने छुट नभएको बताएकी छन् ।
नेपाली कांग्रेस सन्धिखर्क नगर समितिले पार्टी कार्यालय सन्धिखर्कमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति भुसालले यस्तो बताएकी हुन् । उनले नेपाली कांग्रेस समग्र जिल्ला र देशको विकासमा टेवा पुर्याउने एक मात्र पार्टी रहेको भन्दै चुनाव हार्ने छुट नभएको बताएकी हुन् ।
उनले कांग्रेस सधै परिवर्तनशिल पार्टी रहेको भन्दै हरेक परिवर्तनका घटना क्रममा कांग्रेसको योगदान रहेको जिकिर गरिन् । घोषणापत्रमा राखिएका नीति र योजनाहरुको कार्यान्वयनका लागि पनि कांग्रेसलाई चुनाव हार्ने छुट नभएको बताइन ।
उनले अर्घाखाँचीका मतदाताहरुले आगामी फागुन २१ को निर्वाचनबाट प्रधानमन्त्री छान्ने प्रतिनिधि पठाउन लागेको भन्दै ढुक्क भएर कांग्रेस जिताउन अनुरोध गर्दै नेता कार्यक्रताहरुलाई त्यसै अनुरुप लाग्न पनि अनुरोध गरिन् ।
उनले नेपाली कांग्रेस बदलिएर आएको र परिवर्तनका हरेक प्रतिनिधित्व कांग्रेसले गरेको भन्दै यो निर्वाचनमा कांग्रेसको जित हक भएको दावी गरिन ।
अर्घाखाँचीमा नेपाली कांग्रेसले चुनावी गतिविधिलाई तिब्रता दिएको छ ।













