अर्घाखाँची । नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले कांग्रेस सशक्त रहनु देश र लोकतान्त्रिक परिवर्तनको मजबुतीसँग प्रत्यक्ष जोडिएको बताएकी छन्।
नेपाली कांग्रेस छत्रदेव गाउँपालिका द्वारा आयोजित कायक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “कांग्रेस कमजोर हुनु भनेको देश कमजोर हुनु हो, परिवर्तन कमजोर हुनु हो। लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि कांग्रेस बलियो हुनैपर्छ।”
भुसालले नेपालको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र नागरिक अधिकार स्थापित गर्ने ऐतिहासिक यात्रामा कांग्रेसको निर्णायक भूमिका रहेको स्मरण गराउँदै वर्तमान चुनौतीका सामना गर्न पार्टीलाई एकढिक्का भएर अघि बढ्न आग्रह गरिन्।
उनले थपिन्, “हामीले कमजोर कांग्रेस होइन, सशक्त कांग्रेस निर्माण गर्नुपर्छ। त्यसका लागि आन्तरिक एकता, अनुशासन र जनतासँगको भरोसा बलियो बनाउनुपर्छ।”
भुसालले लोकतन्त्रविरुद्धका प्रवृत्तिहरू सक्रिय भइरहेको संकेत गर्दै सचेत रहन कार्यकर्तालाई आह्वान गरिन्। उनका अनुसार परिवर्तनको संरक्षण र समृद्ध नेपालको यात्राका लागि कांग्रेसको नेतृत्व अपरिहार्य छ।












