
- कैलाली २ का स्वतन्त्र उम्मेदवार दीपक रावलले आफ्नो निर्वाचन खर्च विवरणमा मदिरा खर्चसमेत समावेश गरेका छन्।
- उनले चुनावमा जम्मा १६ मत ल्याए पनि सार्वजनिक गरेको खर्च विवरण सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
- केहीले यसलाई इमान्दारीको रूपमा लिएका छन् भने अधिकांशले उक्त खर्च विवरणलाई हास्यास्पद भन्दै व्यंग्य गरेका छन्।
अर्घाखाँची । प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएसँगै देशभरका उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्ने क्रम जारी छ। खर्च विवरणको विश्वसनीयता बारे बहस भइरहेकै बेला सुदूरपश्चिम प्रदेशको कैलाली निर्वाचन क्षेत्र नं. २ का एक स्वतन्त्र उम्मेदवारको खर्च विवरण भने सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ।
यतिवेला समाजिक संजालमा सुदुरपश्चिम प्रदेशको कैलालीको निर्वाचन क्षेत्र नंं. २ बाट स्वतन्त्र उम्मेदवार बनेका दिपक रावलको निर्वाचन खर्च विवरण सामाजिक संजालमा भाइरल बनेको छ । उनले आफ्नो निर्वाचन खर्च जम्मा २ लाख ३६ हजार ५०० रुपैया देखाएका छन । अचम्मको कुरा के भने उनले उक्त खर्च विवरणमा स्वंयम सेवकका लागि साझपख थकान मेटान शिर्षकमा ८८४८, भोड्का र लोकल सहित विभिन्न मदिराको नाममा ४५ हजार पाँचसय रुपैयाँ खर्च देखाएका छन ।
उक्त विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले रावलले वास्तविक खर्च इमान्दारीपूर्वक देखाएको भन्दै प्रशंसा गरेका छन् भने कतिपयले यसलाई हास्यास्पद भन्दै व्यंग्य गरेका छन्।
सामान्यतया चुनावी अभियानका क्रममा यस्ता खर्च हुने भए पनि अधिकांश उम्मेदवारहरूले त्यसलाई औपचारिक खर्च विवरणमा उल्लेख नगर्ने गरेको चर्चा पनि सामाजिक सञ्जालमा भइरहेको छ।
स्वतन्त्र उम्मेदवार रावलले कैलाली क्षेत्र नं. २ बाट क्यामेरा चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका थिए। तर उनले चुनावमा १६ मत मात्र प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल १९ हजार ५७ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।












