
- पाणिनि गाउँपालिकाको आठौँ गाउँसभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।
- सभाले आर्थिक विधेयक स्वीकृत गर्नुका साथै चालु योजनामा संशोधन गरेको छ।
- गाउँपालिकाले आगामी दिनमा सुशासन र जनमुखी विकासलाई प्राथमिकता दिने भएको छ।
अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन विभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ।
अधिवेशनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ स्वीकृत गरेको छ भने सुशासन तथा सार्वजनिक सेवा समितिको चौमासिक प्रतिवेदन पनि पारित गरेको छ।
गाउँसभाले चालु आर्थिक वर्षको हालसम्मको समग्र कार्य प्रगतिबारे समीक्षा गर्नुका साथै चालु आर्थिक वर्षको विनियोजन ऐन अन्तर्गत रहेका योजना तथा कार्यक्रमहरूमा आवश्यक संशोधन प्रस्ताव पनि पारित गरेको गाउँसभाका सदस्य सचिव तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले जानकारी दिए।
यस्तै गाउँसभाले नवनिर्वाचित सांसदहरू तथा नवगठित सरकारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले शुभकामना व्यक्त दिदै नयाँ सरकारले शासकीय सुधारमार्फत सुशासनको प्रत्याभूति गराउने नीति लिएको उल्लेख गर्दै स्थानीय तहले पनि सोही नीतिलाई आत्मसात गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताए।
गाउँपालिकाले आगामी दिनमा सुशासन, पारदर्शिता र जनमुखी कार्यक्रमलाई प्राथमिकता दिँदै विकासका गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।













