
- अर्घाखाँचीको पाणिनीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटनामा २८ जनाभन्दा बढी घाइते भएका छन् जसलाई उपचारका लागि अस्पताल पठाइएको छ।
- बस सडकबाट ४०० मिटर तल खसेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने २८ जनाभन्दा बढी घाइते भएका छन्। सन्धिखर्क–पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी गाउँपालिका–८ कुरुलेफाँट नजिक सुपा देउराली मन्दिर दर्शन गरेर पर्वत फर्किंदै गरेको पर्वतको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो।।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश बहादुर जिसीका अनुसार बसमा ३० जनाभन्दा बढी यात्रु सवार थिए। दुर्घटनामा मृत्यु हुने दुवै जनाको ठेगाना पर्वतको मोदी गाउँपालिका भए पनि उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
बस सडकबाट करिब ४०० मिटर तल जंगलमा खस्दा धेरै यात्रु घाइते भएका हुन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि पाल्पा र सन्धिखर्कस्थित विभिन्न अस्पतालहरूमा पठाइएको छ।
घटनालगत्तै स्थानीयवासी, प्रहरी र उद्धार टोलीले घाइतेहरूको उद्धार गरेका थिए। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













