
- सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा ठूलो ढुङ्गा खसेकाले यातायात बन्द भएको छ।
- ढुङ्गा फुटाएर हटाउनुपर्ने भएकाले सडक सञ्चालनमा आउन केही दिन लाग्नेछ।
- वर्षाका कारण जोखिम बढेकाले उक्त सडक खण्डमा यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ।
अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्ड केही दिनका लागि अवरुद्ध हुने भएको छ।
पाल्पा–अर्घाखाँची सिमाना नजिकै ढुङ्ग्रेखोला क्षेत्रकाे सडकमा ठूलो ढुङ्गा खसेर बाटो अवरुद्ध भएपछि सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको हो। पाणिनि क्षेत्रमा पर्ने उक्त सडकखण्डमा खसेको ढुङ्गा अत्यन्तै ठूलो रहेकाले तत्काल पन्छाउन सम्भव नभएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवशबहादुर जिसीका अनुसार ढुङ्गालाई फुटाएर हटाउनुपर्ने भएकाले सडक सञ्चालनमा ल्याउन केही समय लाग्नेछ। सडक खुलाउने प्रयास भइरहेको भए पनि तत्काल सवारी आवागमन सहज हुने अवस्था नरहेको उनले जानकारी दिए।
वर्षायामका कारण उक्त सडकखण्डमा पहिरो तथा ढुङ्गा खस्ने जोखिम बढेको छ। जोखिमलाई मध्यनजर गर्दै यसअघि नै रातिको समयमा उक्त सडकमा यात्रा नगर्न तथा सवारी सञ्चालनमा रोक लगाइएको थियो।
प्रहरी नायब उपरीक्षक जिसीले सडक अवरुद्ध रहेको र वर्षायाममा थप जोखिमसमेत हुन सक्ने भन्दै हाल उक्त सडकखण्डमा यात्रा नगर्न सर्वसाधारण तथा सवारी चालकलाई अनुरोध गरेका छन्।
सडक खुलाउन आवश्यक पहल भइरहेको र अवरोध हटाएपछि मात्रै सवारी आवागमन नियमित हुने प्रहरीले जनाएको छ।













