
- रसुवाको बाढीपीडितका लागि तौलिहवा मुस्लिम समाजले ५८ हजार ५ सय रुपैयाँ राहत संकलन गरेको छ।
- संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी भौचर प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको छ।
- विपद्को समयमा धर्म र समुदायभन्दा माथि उठेर मानवीय सहयोग गर्नुपर्ने सन्देश समाजले दिएको छ।
कपिलवस्तु । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै कपिलवस्तुको तौलिहवा मुस्लिम समाज तथा जामा मस्जिद तौलिहवा समितिको अगुवाइमा रु. ५८ हजार ५ सय राहत रकम संकलन गरिएको छ।
पेश इमाम हजरत अलि हसन निजामी, अध्यक्ष अधिवक्ता राउफ अहमद खाँ तथा कपिलवस्तु–१ का वडाध्यक्ष जाहिद खाँ लगायतको अगुवाइमा स्थानीय मुस्लिम समुदायबाट संकलित उक्त रकम **‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’**मा जम्मा गरिएको हो।
रकम जम्मा गरेपछि त्यसको बैंक भौचर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत सम्बन्धित निकायलाई बुझाइएको जनाइएको छ।
विपद्को यस कठिन घडीमा बाढीपीडित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन मुस्लिम समाज सधैँ प्रतिबद्ध रहने बताइएको छ।
समाजले विपद्को समयमा जात, धर्म र समुदायभन्दा माथि उठेर मानवीय सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।













